Shittalpati
बैंकहरूले फेरि घटाए निक्षेपको ब्याजदर

पाल्पा, निक्षेप बढ्दै जाने, तर कर्जाको माग न्यून भएपछि बैंकहरूले निक्षेपको ब्याजदर फेरी घटाएका छन् । १३ वाणिज्य बैंकहरूले चैतको तुलनामा बैशाखदेखि लागू हुने गरी औसतमा ०.२९ प्रतिशत विन्दुले घटाएका हुन् । चैतमा वाणिज्य बैंकहरूले व्यक्तिगत निक्षेपमा औसत ब्याजदर ७.२५  प्रतिशत ब्याज दिएका थिए ।

वैशाखका लागि वाणिज्य बैंकहरूको एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ६.९६४ प्रतिशत कायम भएको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये १३ वटाले चैतको तुलनामा वैशाखमा निक्षेपको ब्याज घटाएको, तीन वटाले बढाएको र चार वटाले स्थिर राखेका छन् । वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, कर्जा माग नबढिरहेको बेला अधिकांश बैंक तथा वित्तीय संस्थाले वैशाखका लागि निक्षेपको ब्याज घटाएका हुन् । ब्याजदर बढाउने बैंकहरुले पनि सीमान्त दरमा मात्र बढाएको देखिन्छ । जसअनुसार चैतको तुलनामा वैशाखमा कृषि विकास, एभरेस्ट र एनएमबी बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् भने नबिल, इन्भेस्टमेन्ट मेगा, प्रभु र स्ट्यान्डर्ड चार्टर्ड बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् । बाँकी १३ वटा बैंकले चैतको तुलनामा वैशाखमा निक्षेपको ब्याज घटेको हो । वैशाखका लागि वाणिज्य बैंकहरूको एक वर्ष व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर न्यूनतम ५.६९१ र अधिकतम ६.९६४ प्रतिशत रहनेछ । यस्तै साधारण निक्षेपको ब्याजदर पनि ११ वटा बैंकले घटाएका छन् भने ९ वटाले स्थिर राखेका छन् । जसअनुसार वैशाखमा वाणिज्य बैंकहरुमा साधारण बचतको औसत ब्याजदर न्यूनतम ३.४५६ र अधिकतम ४.९४६ प्रतिशत कायम हुने छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update