Shittalpati
शुभकामनाको अर्थ

हामीले विक्रम सम्वत २०८० सालको अन्तिमसम्म देश र जनताको मुहारलाई फेर्ने रहर भएर पनि चाहेजति उपलब्धी हासिल गर्न सकेनौं । समस्याहरु बीचमा हामी सधैं लडिरहने प्रवृतिको अन्त्य गर्छौ भन्यौ तर गर्न भने चाहे जति सकेनौं । जे होस्, यो वर्ष भिन्न–भिन्न चरित्रका सरकार निर्माण भए तर पद्धति अनि कार्यनीति र जनताका आशाका पर्खालहरु निर्माण भएनन् । बरु जनताका आशा र भरोशाहरु कतिपय भत्किए अनि सपनाहरु क्षत विक्षत पनि भए । खिन्न छन् जनता, भ्रष्टाचारी भनेर धेरैलाई कार्यवाही गरियो, त्यो केवल सरकारले जनतालाई देखाएको ललिपपमै सिमित भयो । उपलब्धी शून्य भए, मात्र संसारभर हामी भ्रष्टाचारमा लिप्त रहेछौ भन्ने प्रचारवाजीमै सिमित भए । हाम्रा समातिए, सामान्य कार्यवाही शुरु भए, प्रचारवाजी भयो तर अब के हुन्छ ? आशा र भरोशा गर्ने ठाउँ पनि रहेन जनतासँग । चोरलाई साधु बनाउने र चोख्याउँदै सरकाररुपी गायत्रीमन्त्रले कर्मकाण्डी पारामा जनतालाई खिज्याइरहने बाहेक केही पनि गर्न सकेको देखिएन ।

आशे खेतीबाट वाक्क भएका जनता, कहिले नयाँ रवि र कहिले पुराना कविको चर्तिकलालाई नजिकबाट नियालिरहेका छन् । जिस्क्याइरहेको आभास स्वरुप नयाँ बजेट र नीति अनि कार्यक्रमका विषयमा मन्त्रीहरु कुर्लिरहदा सञ्चारका माध्यमको प्रयोग अनि दुरुपयोगका गाथा वेथाहरु त्यतिकै मौलाइरहेका छन् । देश अब देश रहेन, नेताको क्रिडास्थल मात्रै भयो भन्नेहरु पनि कानमा तेल हालेर चित्कारात्मक नाटकलाई मञ्चन गर्ने बाहेक केही पनि गर्न सकेका छैनन् । अब पर्सीदेखि शुभकामनाका फर्मेटमा सामाजिक सञ्जाल रङ्गिछन्, सबैले सबैलाई शुभकामना दिन्छन्, सुधार र उधारका पीडितहरु प्रति कतैबाट पनि सम्वोधन भएको देख्न पाइदैन । त्यसकारण अब छोडौ यो महानाट्यशालाको मञ्चन, अब त देश र दुनियालाई बदल्ले गरी दृढता, साहस र हिम्मतका पाइला अगाडि बढाउने खालका व्यवहारिक र वास्तविक शुभकामना आदान प्रदान गरौं । अनि मात्र देश र जनताका समस्याहरु उजागर हुन्छन् र त्यतिबेला मात्र शुभकामनाको अर्थ रहन्छ ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update