Shittalpati
लगानी सम्मेलनको सार्थकता

वैदेशिक लगानी भिर्याउनका निम्ति सरकारले आयोजना गरेको लगानी सम्मेलनको मिति नजिकिँदै गएको छ । विदेशी लगानीकर्ता, उद्योगीलाई आकर्षित गर्न  सरकारले बैशाख १६ र १७ गते राजधानी काठमाडौंमा लगानी सम्मेलन गर्दैछ । लगानी सम्मेलन गरेर आधिकारिक रूपमा नै नेपालमा विदेशी लगानी भित्राउने सरकारले तयारी गरेको छ ।

मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको पुँजी एवं प्रविधि भिर्याउन सो सम्मेलनले ठूलो आधार प्रदान गर्ने आशा गरिँदै छ । तर सो सम्मेलनमा धेरैको सहभागिता नहुने हो कि भन्ने चिन्ता सर्वत्र हुन थालेको छ । कति संख्यामा निम्तालुहरू  सम्मेलनमा सहभागी होलान् त भन्ने प्रश्न आफैमा महत्वपूर्ण हुन्छ । तर, त्यसभन्दा बढी कति लगानीको प्रतिबद्धता आउँछ र आएका प्रतिबद्धतामध्ये कतिले मूर्तरूप लिन्छ भन्ने कुराले समेत महत्व राख्दछ । लगानीकर्ताहरूको सहभागिताले  नेपालमा कुन हदसम्म लगानी हुन्छ भन्ने कुराको संकेत गर्दछ । यसअघिका सम्मेलनबाट प्राप्त प्रतिवद्धता अनुरूप लगानी नआउँदा लगानी सम्मेलनको औचित्य माथि नै प्रश्न उठ्ने गरेको छ । समस्याको पहिचान र समाधानका लागि आवश्यक काम नगरी लगानी सम्मेलन मात्र गर्दै जाँदा त्यसको उपलब्धि सरकारले कति लिन सक्ला ? लगानीको वातावरण तयार नभएको विज्ञहरूले नै औंल्याउँदै आएका छन् । लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक ऐन कानुनको संशोधन पहिलो कुरा हो । तर त्यो अहिलेसम्म पनि ऐन संशोधनको विधेयक पारित भई कार्यान्वयन हुन सकेको छैन । यो अत्यन्त दुःखको कुरा हो ।

विगतलाई बेवास्ता गरेर पटक–पटक लगानी सम्मेलन गर्दा यसबाट लगानीकर्तामा नकारात्मक सन्देश प्रवाह हुनेतर्फ पनि सरकारले ध्यान दिएको देखिँदैन । छोटो समयको अन्तरालमा लगानी सम्मेलन गर्दा नेपालको अर्थव्यवस्था र सरकारले अपनाउँदै आएको आर्थिक नीतिमाथि नै शंका उत्पन्न हुन्छ । ठूलो परिमाणमा भित्रिइरहेको रेमिटेन्स उपयोग गर्न नसकिरहेको अवस्थामा लगानीका लागि विदेशी लगानीकर्ताको मात्रै मुख ताक्ने प्रवृत्ति पनि सही होइन । कतिपय ठूला परियोजनामा लगानी गर्न स्वदेशी लगानीकर्ता नै सक्षम छन् । स्वदेशी लगानीकर्तालाई बेवास्ता गरेर विदेशी लगानीकर्ता आकर्षित गर्ने उद्देश्यले आयोजना गरिने यस्तो लगानी सम्मेलनले स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको देखिन्छ । यसर्थ सम्मेलनले स्वदेशी लगानीकर्ताहरुलाई पनि उचित किसिमको लगाानी गर्ने वातावरण सिर्जना गरिदिन सक्ने हो भने मात्र लगानी सम्मेलनको सार्थकता रहन्छ ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update