Shittalpati
शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिवर्तन गर्नुपर्छ : सञ्चारमन्त्री शर्मा

पाल्पा, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान संविधानको शासकीय स्वरुप र निर्वाचन प्रणालीमा परिवर्तन गर्न आवश्यक रहेको बताएकी छन् । शनिबार नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले स्थायी सरकार निर्माणका लागि शासकीय स्वरुप र निर्वाचन प्रणालीमा परिवर्तन गर्न आवश्यक रहेको बताएकी हुन् ।

उनले यस्तो प्रणालीका कारण  एउटै सरकार कति दिन चल्छ भन्न सकिने अवस्था नरहेको धारणा व्यक्त गरिन् । मन्त्री शर्माले नेपाली काँग्रेस, नेकपा एमाले जस्ता पार्टीले बहुमत पाउदा त शासकीय स्वरुपकै कारण स्थिर सरकार दिन सकेनन् भन्दै गएको निर्वाचनमा जनमत नै मिश्रित आएकाले सरकार छिन छिनमा परिवर्तन हुनु स्वभाविक रहेको उल्लेख गरिन् । उनले भनिन् ‘जब सम्म शासकीय स्वरुप र निर्वाचन प्रणालीमा परिवर्तन हुँदैन तबसम्म कुनै पनि सरकार स्थायी हुने अवस्था छैन् ।’ 

५ वर्षे स्थिर सरकारको लागि प्रदेश र संघमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासकीय स्वरुपको विषयमा राजनीतिक दलहरुबिच सहमति कायम गरेर संविधान शंसोधन गर्नु पर्ने आवश्यकता देखिएको मन्त्री शर्माको भनाई छ ।  उनले भनिनन् ‘स्थानीय सरकार प्रमुखलाई ५ बर्षसम्म कसैले पनि हटाउन नमिल्ने व्यवस्था संविधानमा छ । त्यसैले केन्द्र, प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुुपर्छ यसो भयो भने मात्र सरकार स्थायी रहन्छ ।’ 

फरक प्रसंगमा सरकारको प्रवक्ता समेत रहेकी शर्माले भष्ट्रचार अन्त्यको लागि सबै नेता र जनप्रतिनिधिहरुको सम्पती छानविन तथा सार्वजनिक गर्ने नीति तथा ऐन निर्माणका लागि सरकार लागेको बताईन् । उनले भनिन् ‘हामीले जिल्लादेखी केन्द्रसम्मका राजनीतिक दलका नेताहरु, वडाअध्यक्षदेखी राष्ट्रपतिसम्मका जनप्रतिनिधिहरु र सबै तह तप्काका कर्मचारीहरुको वार्षिक सम्पत्ति छानविन तथा सार्वजनिक गर्नुपर्ने नीति, नियम तथा ऐन कानुनका लागि पहल गरिहेका छौं ।’

वर्तमान प्रचण्ड सरकार भष्ट्रचारको शुन्य सहनशिलताबाट अगााडि बढेकाले अनियमिता गर्ने माथि जुनसुकै पार्टी, कर्मचारी तथा उच्च ओहोदाका व्यक्तिहरु नभनि भिआईपिहरुलाई समेत कानुनी दायरामा ल्याउने, पक्राउ गर्ने, अनुसन्धान गर्ने मुद्दा लगाउने काम गरिरहेको मन्त्री शर्माले बताईन ।  पञ्चायतकालमा एक आधा घटनाहरु मात्र सार्वजनिक हुन्थे तर संघीय लोकतान्त्रिक गणतन्त्रमा भने कानुन भन्दा माथि कोही छैन, केही व्यक्ति सत्ताको आडमा दुई चार दिन लुकेर बस्लान् तर दुई चार बर्ष भित्र सबै अपराधीहरु कानुनको दायरामा आउने र कारवाहीको भागिदार बन्ने उनले दावी गरिन् ।

संविधानका मौलिक हकहरु पूर्ण रुपमा कार्यान्वयन गर्न सके सुखी नेपाली सम्मृद्ध नेपाल बनाउन सकिने भएकाले सरकार, राजनीतिक दल, संवैधानिक अंगहरु, नागरिक समाजको भूूमिका महत्वपूूर्ण रहने मन्त्री शर्माले जोड दिईन । बन्दुकको नालबाट ढल्न नसकेको व्यक्ति संस्था  सत्ता पाएपछी र विविध अवसरको कारण ढल्दै गएका छन्, त्यसैले सत्ता र अवसरमा पनि दायाँ–बायाँ नगरी इमान्दारिता पूूर्वक काम गर्ने व्यक्ति नै राष्ट्रले खोजेको उनले उल्लेख गरिन् । मन्त्री शर्माले पत्रकार तथा आमसंचार माध्यमलाई व्यस्थित गर्ने विधेयक अर्थमन्त्रालयबाट स्विकृत भई मन्त्रीपरिषदको बैठकमा लैजाने गरी तयारी भईरहेको  समेत बताईन । कार्यक्रम महासंघका अध्यक्ष रेखीराम रानाको अध्यक्षता, उपाध्यक्ष भरत शर्माको स्वागत र सचिव यज्ञमुर्ति तिमिल्सीनाको सञ्चालनमा भएको थियो ।  यस्तै  विभिन्न कार्यक्रमहरुको दौरानमा पाल्पा आएकी मन्त्री शर्माले जिल्लाको बगनासकाली –९ बगनासडाँडामा रहेको रेडियो नेपाल र नेपाल टेलिभिजनको रिले स्टेसनको निरीक्षण, भगवती मन्दिरको दर्शन, पाल्पा दरवार र प्रेमको प्रतिक रानीमहलको अवलोकन समेत गरेकी छन् ।

 

 

 

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update