Shittalpati
खेलकुद दिवसको सन्दर्भ

विश्वभर अप्रिल ६ अर्थात् आज ‘अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि खेलकुद दिवस’ विश्वभर मनाइँदै छ । संयुक्त राष्ट्र संघ (यूएन) को साधारणसभाले सन् २०१३ को अगस्ट २३ लाई विश्व खेल दिवस घोषणा गरेको थियो । नेपालमा भने सन् २०१५ देखि यस दिवस मनाउन सुरु गरिएको हो । खेलकुदका माध्यमबाट विश्वभरको गरिबी उन्मूलन, असमानतारहित, सुन्दर र शान्त समाजको सन्देश प्रवाह गर्नका लागि हरेक वर्ष विश्व खेलकुद दिवस मनाउने गरिन्छ । शान्तिका लागि खेल महत्वपूर्ण छ । सामान्यतः मन बहलाउन, मनोरञ्जन गर्न वा व्यायामका लागि खेल्ने वा कुद्ने कार्यलाई खेलकुद भन्ने गरिन्छ । खेलकुदले मानिसलाई फुर्तिलो र निरोगी बनाउनुका साथै अनुशासित र समूहमा मिलेर काम गर्न सक्ने बनाउँछ । खेलकुदले मान्छे मान्छेबिच सामूहिक भावनाको विकास गराउनुका साथै आपसी प्रतिस्पर्धाको भावना जगाउँछ । नेपालमा हरेक वर्ष खेलकूद दिवस मनाइए पनि खेलकुद विकासमा देखिएका समस्याहरु भने जस्ताको तस्तै छन् । यो अत्यन्त दुःखको कुरा हो । सरकारले खेल दिवसका लागि ठूलो मात्रमा बजेट विनियोजन गरे पनि त्यसको सहि सदुपयोग भने हुन सकेको छैन । 

नेपाली खेलकुदले आफ्नो सफलतामा गर्व गर्न सक्ने क्षण पटक्कै नआएको भने होइन । तर, यस्ता क्षणको साक्षी बन्न पाउने सुखद अवसर आम नेपाली खेल समर्थकले निकै कममात्र पाएका छन् । पक्कै पनि विगतको तुलनामा यतिबेला नेपाली खेल क्षेत्रको दायरा केही फराकिलो बनेको छ । देशभित्र हुने खेल गतिविधिहरू उल्लेख्यरूपमा बढेको छ । अन्तर्राष्ट्रिय खेल गतिविधिमा सहभागिता र सफलताको क्रम पनि क्रमशः बढ्दो छ । तर, अझै पनि आम खेल समर्थकले चाहे र सोचेअनुरूप सफलताको सिँढी उक्लन सकिरहेको छैन । यो आफैमा विडम्बनाको कुरा हो । राष्ट्रको पहिचान, सम्मान र गरिमा अभिवृद्धि गर्न खेलकुदको विकास अपरिहार्य नै छ । खेल क्षेत्र आर्थिक पाटोसँग पनि जोडिएको छ । विकसित र विकासशील राष्ट्रहरूमा खेलकुदको व्यवसायीकरण भई अर्थतन्त्रमा राम्रो योगदान समेत गरेका छन् । विभिन्न अध्ययनले समेत यसको पुष्टि गरेका छन् । यसर्थ खेलकुदले सामाजिक–आर्थिक क्रियाकलपमा बहुआयामिक प्रभाव पु¥याउँछ । खेलकुदमार्फत नागरिकको शारीरिक र मानसिक स्वास्थ्य, सामूहिक भावनाको विकास र अनुशासित तथा मर्यादित जीवनयापनमा सघाउ पुग्नेछ । यसतर्फ सरकार सम्बन्धित निकायको ध्यान जान सके मात्र खेलकुद दिवस मनाउनुले सार्थकता प्राप्त गर्न सक्छ ।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update