Shittalpati
डेंगुबाट बच्न सचेतना अपनाउन आग्रह

पाल्पा, स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । गर्मीयाम सुरु भएसँगै डेंगुको जोखिम  बढ्न थालेको भन्दै मन्त्रालयले सचेतना अपनाउन आग्रह गरेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गर्मीसँगै पानी पनि पर्न सुरु हुने भएकाले डेंगुको जोखिम बढ्ने बताएको छ । डेंगुको सङ्क्रमणबाट बच्न सचेतना अपनाउनुपर्ने महाशाखाले भनेको छ ।  जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालनका लागि मन्त्रालयले स्थानीय तहलाई निर्देशन समेत दिइसकेको छ । गर्मीसँगै पानी संकलन गरेर राख्ने गरिन्छ । यसरी संकलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ ।

डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेमा डेंगु लाग्दछ । डेंगु  हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्नेलगायत लक्षण देखापर्ने चिकित्सकहरु बताउँछन् । यदि लक्षण देखापरेमा तत्काल चिकित्सकको सल्लाह लिन महाशाखाले आग्रह गरेको छ । लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न सबैमा महाशाखाले सुझाव दिएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update