Shittalpati
तानसेनमा शीतला देवीको रथ यात्रा निकालियो

भरत शर्मा

पाल्पा, १०१ वर्ष पुरानो तानसेन नगरपालिका– ७ स्थित देवीडाँडामा रहेको शीतला देवीको रथ यात्रा निकालिएको छ । धार्मिक विधि पूर्वक पूजा आजा गरी रथ निकालिएको हो ।

रथ यात्रा सुरु हुनु अघि स्थानीयबाट पूजा गर्नुको साथै दि फेमस महिन्द्र दल गणका सेनाका अधिकृतबाट पूजा गरी तोप पड्काएर रथ यात्रा शुुभारम्भ गरिएको थियो । रथ यात्रामा पञ्चेबाजासहित नेपाली सेना, प्रहरी, स्थानीय भजन, विभिन्न टोल विकास संस्था, सामाजिक सघंसस्था र विद्यालयका शिक्षक विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

रथ यात्रा देवी डाँडा हुदैँ, चुुच्चेबारी, बाँसटारी प्रवास हुँदै पुनः मन्दिरमा पुुगी विसर्जन गरिएको थियो । मन्दिरमा पूजा आजा गरी भाकल गरेमा चिताएको कुरा पुग्ने जनविश्वास रहेको छ । जसका कारण मन्दिरको गरिमा समेत बढेको छ । स्थानीय हरिप्रसाद कोइरालाले सपनामा देवीलाई देखेर देवीले उल्खनन् गर्ने ठाउँ बताएपछि कोइरालाले त्यहाँ उत्खनन गर्दा मूर्ति भेटिएको थियो । भेटिएको उक्त मूर्ति डाँडामा राख्न मन्दिर स्थापना गरिएको मन्दिर व्यवस्थापन समितिका सल्लाहकार विश्वराज पौडेलले बताए ।

यहाँ प्रत्येक वर्ष शीतला अष्टमीका दिन देवीको रथ यात्रा निकाल्ने प्रचलन रहेको समितिका सचिव केशव अधिकारीले बताए । मन्दिरमा, नित्य पूजा हुनुका साथैँ प्रत्येक महिनाको १ गते विशेष पूजा हुने गर्दछ । मन्दिरको पूजा आरधाना र व्यवस्थापनका लागि  स्थानीय समाज सेवी र वडाबाट सहयोग गरिदै आएको वडा अध्यक्ष प्रदीप खनालले बताए । उनले ऐतिहासिक मन्दिर र यहाँबाट निकालिने देवीको रथ यात्राको प्रचार– प्रसार गरी यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी आफुुहरु अगाडि बढेको जानकारी दिए ।

स्थानीय त्रिलोचन पौडेलले मन्दिरलाई थप व्यवस्थित गर्न भौतिक अवस्थामा सुधार गर्न जरुरी रहेको बताए । उनले भने ‘मन्दिरको भौतिक अवस्था सुुधार गर्न आवश्यक छ । त्यसका लागि हामीहरुले आर्थिक संकलन अभियान सुरुवात गरेका छौं ।’ तानसेनमा रहेका यस्ता ऐतिहासिक महत्वका धार्मिक मठ मन्दिरहरुको संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकारले ध्यान दिनुुुपर्ने स्थानीयहरुको भनाई छ । उनीहरुले पुुरातात्विक, धार्मिक महत्वका सम्पदाहरुको संरक्षण र  कला संस्कृतिको जर्गेना गर्ने दायित्व स्थानीय सरकारको समेत रहेकाले वार्षिक बजेट नै छुट्याउनुु पर्ने बताए ।   

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update