Shittalpati
अटिजम लुकाएर नराखौं

अटिजम भन्नाले कुनै पनि मानिसमा भएको सामाजिक कौशलताका चुनौती, दोहोरिने व्यवहार, आफ्नो मनको भावनालाई बोलेर ब्यक्त गर्न नसक्ने समस्या भन्ने बुझिन्छ । तर  समाजमा अटिजमलाई रोग भन्ने गलत बुझाइ छ । बालबालिकामा देखिने यो कुनै रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या हो । यो रोग नभएर बालबालिकाको मस्तिष्क विकासका क्रममा आउने समस्या हो भन्ने कुरा बुुझ्न जरुरी छ । यसलाई ‘न्युरो डेभलपमेन्ट डिसअर्डर’ पनि भनिन्छ । यो विशेष गरी जेनेटिक र वातावरणीय प्रभावका कारण हुने गर्दछ । पछिल्लो समय विश्वमा अटिजम चुनौतीपूर्ण स्वास्थ्य समस्याको रुपमा बढीरहेको छ । अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिंदै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अप्रिल २ तारिखमा अटिजम जागरुकता दिवस मनाउने गरिन्छ । आज पनि नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ । यो दिवस पहिलो पटक २००८ मा मनाइएको थियो । नोभेम्बर १, २००७ मा, संयुक्त राष्ट्र संघले प्रत्येक वर्ष एक दिनलाई विश्व अटिज्म दिवसको रूपमा घोषणा गर्न भनेको थियो । सोही अनुरुप डिसेम्बर १, २००७ मा संयुक्त राष्ट्र साधारण सभाले अप्रिल २ लाई विश्व अटिज्म जनचेतना दिवस भनेर तोकेको हो । त्यस यता हरेक वर्ष विश्वमा ओटिज्म भएका व्यक्तिको अधिकार र पहिचान सुनिश्चित एवं चेतनाको अभिवृद्धी गर्ने उद्देश्यले विश्व ओटिजम जनचेतना दिवस मनाउने गरिएको हो । हरेक वर्ष दिवस मनाउने गरिए पनि अटिजम समस्या झन बढ्दो छ । यो अत्यन्त दुखको कुरा हो ।

यद्यपी नेपालमा अटिजमबाट गुज्रिरहेकाहरुको यकिन तथ्यांक भने छैन । अटिजमको समस्याबाट गुज्रिरहेकाहरुको उपचार र नियन्त्रणका लागि त्यसको तथ्यांक राख्न आवश्यक छ । परिवारले ख्याल राख्ने र सामान्य हेरचाह गर्ने गर्दा पनि यो समस्याको निदान हुन्छ । तर, यसलाई ठूलो समस्या या निको नहुने रोगका रूपमा लिने सामाजिक सोचले गर्दा धेरैले यो समस्या लुुकाएर र दवाएर राख्छन् । यसो गर्नु गलत हो । अटिजमसम्बन्धी समाजको यही गलत बुझाइलाई चिर्न तथा समाजमा यो समस्याको पहिचान र निदान गर्न आवश्यक छ । यो समस्या कुनै पनि जाती, वर्ग र आर्थिक सामाजिक अवस्थाको व्यक्तिहरुमा पनि देखिन सक्छ । अटिजम भएका व्यक्तिहरुलाई साधारण सञ्चार र सामाजिक कठिनाईदेखि जीवन यापनमा सदा अरुको सहायतामा जीउनु पर्ने अवस्था हुन्छ । यो समस्या जति ढिलो थाहा हुन्छ उनीहरुको उपचारमा पनि झन् ढिलो हुनुको साथै अवस्था जटिल हुँदै जान्छ । यस कारण यो समस्या समयमा पहिचान गर्न सकियो भने जटिलता हुनबाट बचाउन सकिन्छ । अटिजम रोग नभएकाले परिवारबाटै सहज वातावरण सिर्जना गरिदिए यो समस्या निदान गर्न सकिन्छ । तसर्थ यसलाई कसैले पनि लुुकाएर वा दवाएर नराखौं ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update