Shittalpati
दुई विधेयक छलफलका लागि पारित

काठमाडौं, प्रतिनिधिसभाको आइतबारको बैठकले दुईवटा विधेयकमाथि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पारित गरेको छ । अर्थमन्त्री वर्षमान पुनले पेश गरेको ‘भन्सार विधेयक’, २०८० र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले पेश गरेको ‘निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक’, २०८० छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पारित गरेको हो ।       

 दुई वटै प्रस्ताव बैठकबाट सर्वसम्मतिले पारित भएको छ । बैठकमा अर्थमन्त्री पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८०’ समेत प्रस्तुत गरेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा, वित्तीय जोखिम समेतका आधारमा बैंक तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवम् नियमन गर्न आवश्यक रहेकाले यो विधेयक ल्याइएको अर्थमन्त्री पुनको भनाइ छ । त्यस्तै, प्रविधिमा आएको परिवर्तनलाई प्रयोग गर्न र विद्यमान कानुनमा उल्लेखित तीनवटै तहका सरकारको वित्तीय अधिकार क्षेत्र व्यवस्थित गर्ने उद्देश्यले यो विधेयक ल्याइएको बताए । नेपालको समग्र बैंकिङ तथा वित्तीय प्रणालीको विश्वसनियता अभिवृद्धि गर्न, राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाई स्थायित्व कायम गर्न र बैंक तथा वित्तीय संस्थाहरुको संस्थापना, सञ्चालन, व्यवस्थापन, नियमनलगायत कार्यलाई व्यवस्थित गर्नका लागि पनि विद्यमान ऐन संशोधन गर्न लागिएको उनको भनाइ छ । प्रतिनिधिसभाको अर्को बैठक आज बिहान ११ बजे बस्नेछ ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update