Shittalpati
विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नेलाई कारवाही होस्

 पटक–पटक विद्यार्थीको भविष्यमाथि खेलवाड हुँदै आएको छ । विगतदेखि नै विभिन्न लापरवाही र खेलवाडको केन्द्र बन्दै आएको त्रिभुवन विश्वविद्यालय आफ्ना कर्तुतहरू मार्फत् चर्चामा रहन्छ । उसले कहिले प्रश्नपत्र दोहोर्‍याएर, कहिले प्रश्नपत्र एउटा विषयको हुनुपर्नेमा अर्कै विषयको तथा अर्कै सत्रको प्रश्नपत्र उपलब्ध गराएर विद्यार्थीको भविष्य माथि खेलवाड गर्दै आएको छ । परीक्षा केन्द्र निर्धारणदेखि प्रश्नपत्रमा समेत खेलवाड गर्दैै त्रिविले  पटक–पटक नालायकीपन देखाएको छ । अहिले फेरी स्नातक तह पहिलो वर्षको जनसंख्या विषयका १८३ थान उत्तरपुस्तिका हराएको समाचार आएको छ । उत्तरपुस्तिका हराएकै कारण गत वैशाखमा सञ्चालित स्नातक तह पहिलो वर्षको पूरै नतिजा प्रकाशन हुन सकेको छैन । उत्तरपुस्तिका हराएपछि परीक्षा नियन्त्रण कार्यालय अब फेरी परीक्षा लिने तयारीमा छ ।

गत वर्ष पनि व्यवस्थापन संकायअन्तर्गत बीबीएस चौथो वर्षको एक विषयको उत्तरपुस्तिका हराएपछि पुनः परीक्षा लिइएको थियो । यसपालि पनि जनसंख्या विषयको पुनः परीक्षा दिनुपर्ने भएपछि स्नातक तह पहिलो वर्षका विद्यार्थीले नतिजाका लागि अझै कैयौं महिना कुर्नुपर्ने हुन्छ । पुनः परीक्षाले विद्यार्थीको थप समय लिन्छ, हैरानी पनि दिन्छ, अर्कातिर विश्वविद्यालयको व्ययभार पनि बढ्छ । उत्तरपुस्तिका परीक्षणमा लापरवाहीको गुनासो वर्षौंदेखि कायमै छ । नतिजा प्रकाशन यति ढिलो हुन्छ कि कुनै वर्ष त विद्यार्थीले परीक्षा दिएको डेढ वर्षपछि नतिजा पाउन्छन् । प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालनदेखि नतिजा प्रकाशन र लब्धांकपत्र वितरणसम्मको जिम्मा परीक्षा नियन्त्रण कार्यालयलाई छ । यही जिम्मेवारी निर्वाहमा परीक्षा नियन्त्रण कार्यालय यति लापरबाह छ कि प्रश्नपत्र मै त्रुटि हुने, परीक्षार्थीको उत्तरपुस्तिका हराउने, उत्तरपुस्तिका जाँचमा जथाभावी हुने जस्ता घटना दोहोरिरहेका छन् । यस्ता कमजोरीले लाखौं विद्यार्थी प्रभावित भइरहँदा सुधारका लागि न परीक्षा नियन्त्रण कार्यालय, न आफैं विश्वविद्यालय नै गम्भीर देखिन्छन् । यस्ता समस्या समाधानमा त्रिविले गम्भीरता नदेखाउनु पनि उदेककै विषय हो । परीक्षा प्रणालीमा यस्तो हेलचेक्र्याइँ त्रिविका लागि लज्जाको विषय हुनुपर्ने हो । परीक्षार्थीको उत्तरपुस्तिकाको सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्छ । उत्तरपुस्तिका जाँचलाई पनि प्रश्नरहित बनाउनुपर्छ । कहीकतै लापरवाही भए सम्बन्धितलाई तुरुन्तै कारवाही गर्नुपर्छ । यस्तो भयो भने आफ्नो जिम्मेवारी निर्वाहमा हरेक व्यक्ति सजग हुन्छ । यसर्थ प्रश्नपत्र र उत्तरपुस्तिकामा कमजोरी गर्ने जो कोहीलाई अनुसन्धानको दायरामा ल्याई कानुनी कारवाही गर्न जरुरी छ ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update