Shittalpati
पुस्तक समयमै पुर्‍याऊ

बर्सेनि शैक्षिक सत्र सुरु भएको लामो समयसम्म विद्यार्थीका हातमा पुस्तक नपुग्ने समस्या छ । यस वर्ष पनि नयाँ शैक्षिक सत्र सुरु हुन अब केही दिन बाँकी रहेको छ । सरकारले समयमै पुस्तक पुर्‍याउन सम्बन्धित निकायलाई निर्देशन समेत दिइसकेको छ । हुन त यस्ता निर्देशन विगतका सरकारले पनि नदिएका होइनन् । तर समयमै पुस्तक कहिल्यै पुग्न सकेनन् । यस वर्ष पनि त्यस्तै नहोला भन्न सकिदैनन् । समयमै पाठ्यपुस्तक पुर्‍याउन नसकिने समस्या हरेक वर्ष दोहोरिने गरेको छ तर कहिल्यै सुधार हुन नसक्नु विडम्बनापूर्ण हो । सरकारी निकायहरूले प्रत्येक वर्ष त्यस्तो समस्या दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे पनि पटक–पटक यस्तो समस्या देखिनुले बालबालिकाको शैक्षिक सवालमा सरकार संवेदनशील नभएको देखिन्छ । विशेषगरी सरकारी विद्यालयमा पढ्ने देशभरिका विद्यार्थीले यस्तो समस्या भोग्नुपरिरहेको छ । निजी विद्यालयका पाठ्यपुस्तक निजी प्रकाशनले छाप्ने हुँदा समयमै पुस्तक विद्यार्थीको हातहातमा पुगिसकेको हुन्छ । तर, सरकारको छापाखानाले छाप्ने र गरिबका छोराछोरीले पढ्ने पुस्तकमात्रै समयमा नछापिने र विद्यार्थीले समयमा नपाउने समस्याको पुनरावृत्ति भइरहनुले राज्य सामुदायिक विद्यालय शिक्षामा गम्भीर र संवेदनशील नभएको पुष्टि हुन्छ ।

देशभर कक्षा १ देखि १० सम्म ५० लाख विद्यार्थी अध्ययनरत छन् । जनक शिक्षा सामग्रीले आगामी वर्षको लागि १ करोड ७४ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्छ । जसका लागि जनक शिक्षा दिन रात काममै खटिएको छ । जुन निकायले जसरी पाठ्यपुस्तक छपाइ गरे पनि समयमै विद्यार्थीका हातहातमा पुस्तक पु¥याउने दायित्व उनीहरुको हो । जे भएपनि आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यार्थीको हातमा पुस्तक पुग्नुपर्छ । हरेक वर्ष पुनरावृत्ति भइरहेको पाठ्यपुस्तक अभाव आउँदो शैक्षिक शत्रमा नहोस् । विद्यार्थीहरुले स्कूल खुलेको पहिलो दिनदेखि नै नयाँ पुस्तक लिएर कक्षाकोठामा पुग्न पाउन । यसतर्फ सरकार गम्भीर भएर लागोस् ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update