Shittalpati
गगनले थाले दोस्रो चरणको संवाद यात्रा

पाल्पा, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बिहीबारबाट दोस्रो चरणको संवाद यात्रा सुुरु गरेका छन् । पश्चिम नवलपरासीको प्रतापपुरको सूर्यपुरास्थित गोपीगञ्जमा रहेको बीपी कोइरालाको सालिकमा माल्यार्पण गरी उनले संवाद यात्रा सुरु गरेका हुन् ।

यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट शुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमा पुगेर रोकिएको थियो । यो उनको दोस्रो चरणको संवाद यात्रा भनिए पनि पहिलो चरणमा रोकिएको संवाद यात्राको निरन्तरता नै हो ।

संवाद यात्रा सुरु गर्दै थापाले जनतामा देखिएको निराशाको कारण र प्रत्यक्षरुपमा सर्वसाधारणको समस्यालाई नजिकबाट नियालेर समाधानको योजना बनाउने बताए । जनताको आधारभूत आवश्यकतामा राजनीति नगर्ने विषयमा सरकार र प्रतिपक्ष दुवै सहमत हुनुपर्ने उनको भनाइ थियो । वर्तमान सरकार लामो समय नटिक्ने बताउँदै जनताको आधारभूत आवश्यकताको विषयमा राजनीति नगर्न उनले आग्रह गरे । ‘अहिलेको सरकारमा सहभागी दललाई नै यो सरकार लामो समय टिक्छ भन्नेमा शंका छ,’ उनले भने, ‘राजनीतिलाई जनचाहनाअनुसार सेवा गर्ने भन्दा पनि कुर्ची र पावरमा मात्र बस्न चाहने प्रवृत्तिलाई अब जनताले स्वीकार गर्दैनन् । त्यसैले वर्तमान गठबन्धनको सरकार पनि लामो समय टिक्नेवाला छैन् ।’

दोस्रो चरणको संवाद यात्रा तीन दिन चल्नेछ । सो अवधिमा महामन्त्री थापाले पाँच जिल्लामा संवाद यात्रा गर्ने छन् । काँग्रेस गुल्मीका सचिव तथा युवा नेता जगदीश भट्टराईले तीन दिन पाँच जिल्लाहरु नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा स्थानीयसँग महामन्त्री थापाले संवाद गर्ने बताएका छन् । यात्राका क्रममा आफूले बोल्नेभन्दा पनि स्थानीयका कुरा सुन्ने, विकास निर्माणका कार्यहरुको निरिक्षण गर्ने, स्थानीयको घरदैलोमा पुग्ने थापाको योजना रहेको छ । पहिलो दिन बिहीबार थापा नवलपरासीको गोपीगञ्जपछि पट्खौली हुँदै जिल्ला पार्टी कार्यालय पुगेर रुपन्देही प्रस्थान गर्ने छन् । बिहीबारै रुपन्देहीको धकधही, भैरहवा, जिल्ला पार्टी कार्यालय हुँदै बेथरीसम्म पुग्ने कार्यक्रम रहेको छ । भैरहवामा उनले उद्योग व्यवसायीसँग संवाद गर्नेछन् भने बेथरीमा स्थानीय सरोकारका विषयमा छलफल गर्नेछन् । शुक्रबार रुपन्देहीको लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राज्ञिक अन्तरक्रियाबाट संवाद यात्रा शुरु भई कपिलवस्तु प्रवेश गर्ने कार्यक्रम रहेको सचिव भट्टराईले बताए । सोही दिन कपिलवस्तुको लबनी, जिल्ला पार्टी कार्यालय, महाराजगञ्जको पालिका कार्यालय हुँदै चन्द्रौटासम्म संवाद गर्नेछन् । १७ गते शनिबार बिहान दाङको गोवरडिहामा थारू संवादबाट शुरु हुने संवाद यात्रा जङ्ग्रहवा हुँदै बाँके प्रस्थान गर्नेछ । बाँकेमा उनले सिक्टा सिंचाई आयोजनाको अवलोकन गर्ने र फत्तेपुरमा जनसंवाद गर्ने छन् ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update