Shittalpati
परीक्षा मर्यादित र शान्तिपूर्ण होस्

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशव्यापी रूपमा सञ्चालन हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार पाँच लाख चार हजार ४ सय १४ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । एसइई विद्यार्थीहरुको सुरक्षित भविष्यको ढोका पनि हो । त्यसैले उनीहरु सुरक्षित भविष्य खोज्दै एसइईको महासंग्राममा जुट्दैछन् । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षदेखि नयाँ पाठ्यक्रम अनुसार एसइई लिँदैछ । जे–जस्तो अवस्था आए पनि परीक्षा उत्तीर्ण गर्नुपर्छ भन्ने मानसिकता आम विद्यार्थी र अभिभावकमा हुने गर्दछ । परीक्षाको सफलतासँगै त्यसले भविष्य निर्धारण गर्ने भएकाले एसइई जस्तो परीक्षालाई जो कोहीले पनि सामन्य रुपमा लिन सक्दैन । यो परीक्षा उच्च शिक्षाको प्रवेशद्वार भएका कारण यसलाई अभिभावक र विद्यार्थीले समेत भविष्यसँग जोडेर हेर्ने गर्दछन् । एसइई भनेको लामो स्कुले जीवनबाट पार पाउने एउटा तह पनि हो । तर यसलाई समाजका प्रायः सबैजसोले ‘फलामे ढोका’को संज्ञा दिने गरेका छन् । एसएलसी परीक्षा एसइईमा रुपान्तरण हुँदासम्म पनि यो परीक्षालाई ठूलो हाउगुजी बनाइएको छ । यो परीक्षा पास गरिएन भने संसारै डुब्छ भनेर सिकाउँदै आइएको छ । यस्तै सिकाइका कारणले नै यो परीक्षा दिनानुदिन अमर्यादित बन्दै गएको छ । यही कारणले प्रत्येक वर्ष परीक्षामा नक्कली परीक्षार्थी भेटिने, निरीक्षकले नै परीक्षार्थीलाई सिकाउने लगायतका विभिन्न अमर्यादित कार्य यसैको परिणाम हो । जुनसुकै परीक्षा भए पनि त्यसलाई अमर्यादित बनाइनु हुँदैन । परीक्षा भविष्यका कर्णधारका रुपमा रहेका लाखौँ विद्यार्थीहरुले गरेको लगानीको परिणाम देखाउने महापरीक्षा पनि हो । त्यसैले परीक्षालाई व्यवस्थित, मर्यादित बनाउने विषयमा सरोकारवाला निकायले ध्यान दिनुपर्छ ।

विद्यार्थीहरुको भविष्यसँग जोडिएको विषयमा खेलवाड गर्ने अधिकार कसैलाई पनि छैन । परीक्षा बोर्डले परीक्षालाई शान्त, अनुसाशित, मर्यादित बनाउने भनेको छ । यद्यपि परीक्षा नसकिन्जेलसम्म व्यवस्थित रुपमा सञ्चालन हुन सक्छ कि सक्दैन ? भन्ने प्रश्न भने यथावत् नै रहन्छ । विद्यार्थीहरुलाई शान्त र निर्धक्कसँग परीक्षा दिने वावातरण सबै पक्षबाट हुनुपर्छ । परीक्षामा बाह्य हस्तक्षेप हुनु, परीक्षा हलमा अनुशासनहीनताले बढवा पाउनुजस्ता सम्भावनालाई नकार्न सकिँदैन । तर यस्ता गतिविधि रोक्नका लागि परीक्षाको समयमा राम्रोसँग अनुगमन गरिनुपर्छ । यसो भयो भने विद्यार्थीले ढुक्क र निर्धक्कसाथ परीक्षा दिन सक्ने छन् । तसर्थ आजदेखि सञ्चालन भएको परीक्षालाई मर्यादित र शान्तिपूर्ण बनाउने दिशामा सबैको ध्यान जाओस् । एसईई दिने सम्पूर्ण विद्यार्थीहरुलाई सफलताको शुभकामना  !

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update