Shittalpati
प्रशिक्षणले मात्रै पार्टी संगठन मजबुत हुन्छ : उपसभापति श्रेष्ठ

दाङ, नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति तथा प्रदेश प्रशिक्षण विभागका प्रमुख भुवन प्रसाद श्रेष्ठले प्रशिक्षणले मात्रै पार्टीको संगठन मजबुत हुने बताएका छन् । नेपाली काँग्रेस दाङको प्रशिक्षण शाखाले आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संगठनलाई बलियो बनाउन प्रशिक्षण महत्वपूर्ण हुने बताएका हुन् । 

उपसभापति श्रेष्ठले नेपाली काँग्रेसका अगुवा कार्यकर्तालाई प्रशिक्षित नगर्दासम्म पार्टी बलियो हुन नसक्ने धारणा व्यक्त गरे । उनले भने‘ प्रशिक्षणमार्फत नीति, सिद्धान्त र विचारलाई परिस्कृत गर्दै अगाडि बढ्ने सोंचलाई व्यवहारिक बनाउने हो भने देशव्यापी रुपमा पार्टी मजबुुत बन्छ ।’ मुलुकको वर्तमान राजनैतिक अवस्थाका बारेमा टिप्पणी गर्दै प्रदेश उपसभापति श्रेष्ठले समयमै सरकारबाट काँग्रेस बाहिरिएका अब संगठन विस्तारमा  ध्यान दिनुपर्नेमा जोड दिए ।  उनले भने ‘माओवादी र एमाले ढीलो चाडो मिल्छन् भन्ने कुरा काँग्रेसलाई राम्रैसँग थाहा थियो । समयमै सरकारबाट काँग्रेस बाहिरियो अबको समय संगठन विस्तार गर्नु खर्चिनुपर्छ । ’ 

काँग्रेस लुम्बिनी प्रदेश समितिका सदस्य तथा प्रशिक्षक छन्द पहराईले काँग्रेसले महिला, युवा, सबै वर्गलाई समावेशी रुपमा समेटेर संगठन विस्तारमा लाग्नुको विकल्प नभएको  बताए ।  उनले काँग्रेसले मुलुकमा राजनैतिक इतिहास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कुरालाई जनतामाझ लैजानुपर्ने बेला आएको समेत उल्लेख गरे । 

कार्यक्रममा नेपाली काँग्रेस दाङका सभापति शंकर प्रसाद डांगी, पुर्वसभापतिहरु भरत केसी, कृतिबहादुर खड्का, क्षेत्र –२ का सभापति डिल्लीबहादुर वस्नेत, क्षेत्र –३ का क्षेत्रीय सभापति जगतबहादुर खड्का, क्षेत्र –३ प्रदेश (ख) का सभापति खिमबहादुर ओली, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद वस्नेत, दंगीशरण गापाका अध्यक्ष शम्भु गिरी लगायतले प्रशिक्षणले पार्टीमा थप उर्जा थप्ने भन्दै  सिकेका कुरालाई व्यवहारमा लागु गर्नुपर्ने धारणा व्यक्त गरे । प्रशिक्षणमा भूवन प्रसाद श्रेष्ठ, चन्द पहराई, भोला अधिकारी, सुदीप गौतम, बावुरा विश्वकर्मा, सरस्वती गौतम घिमिरे, वमवहादुर डिसी, जगदीश भट्टटराई, गोविन्द न्यौपाने लगायतले दुई दिनसम्म प्रशिक्षण दिएका थिए । चैत्र १३ र १४ गते दुई दिनसम्म चलेको हो । 

प्रशिक्षणमा दाङ निर्वाचन क्षेत्र –३ का राजपुर, गढवा, वंगलाचुली, लमही, घोराही, तुलसीपुर, दंगीशरण, शान्तिनगर, ववई र राप्ती गरी दश स्थानीयतहका अगुवा नेताहरुको सहभागिता रहेको प्रशिक्षण शाखा दाङले जनाएको छ । दाङको प्रशिक्षण शाखाको आयोजना, काँग्रेस लुम्बिनी प्रदेशको प्रशिक्षण विभागको समन्वयमा भएको प्रशिक्षण दाङ शाखाका संयोजक कमनसिंह भारतीको अध्यक्षतामा भएको थियो । 
 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update