Shittalpati
काँग्रेस पाल्पाको आर्थिक सल्लाहकारमा मेयर श्रेष्ठ मनोनीत

पाल्पा, नेपाली काँग्रेस पाल्पाको आर्थिक सल्लाहकारमा तानसेन नगरपालिकाका नगर प्रमुख तथा काँग्रेस नेता सन्तोषलाल श्रेष्ठ मनोनीत भएका छन् । काँग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठले तानसेन नगरपालिका–२ निवासी श्रेष्ठलाई आर्थिक सल्लाहकारमा मनोनीत गरेका हुन् ।

पार्टीको आर्थिक पाटोलाई थप चुुस्त र प्रभावकारी बनाउन श्रेष्ठलाई पार्टी सभापतिले आर्थिक सल्लाहकारमा मनोनीत गरेको पार्टी प्रवक्ता शोभाखर न्यौपानेले बताए । आर्थिक सल्लाहकारमा मनोनीत भएका श्रेष्ठ नेपाली काँग्रेसका पूर्व जिल्ला सदस्य समेत हुुन् । प्राध्यापक संघ त्रिभुवन बहुमुखी क्याम्पसको  सभापति हुँदै केन्द्रीय सदस्य भएका उनी वि.स. २०४८ सालमा नेपाली काँग्रेको क्रियाशिल सदस्यता लिएका थिए । त्रिभुवन बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको कुशल जिम्मेवारी बहन गरेका श्रेष्ठ ३० वर्ष प्राध्यापन क्षेत्रमा संलग्न रहे ।

लामो समय लुुम्बिनी मेडिकल कलेजमा निर्देशकका रुपमा रहेका श्रेष्ठ २०७९ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा निर्वाचित भएका थिए । त्यसअघि प्रशासनिक क्षेत्रको महत्वपूर्ण जिम्मेवारी पूरा गरेका श्रेष्ठ आर्थिक क्षेत्रमा समेत दखल मानिन्छन् । पार्टी सभापति श्रेष्ठले पार्टी कार्यकर्ताहरुलाई आर्थिक उत्पादनसँग जोड्ने योजना बनाएका छन् । उक्त योजनालाई सफल बनाउन सल्लाहकारको समेत महत्वपूर्ण भूमिका रहनेछ । अहिलेको जटिल अवस्थामा आर्थिक योजना बनाउनमा इमान्दारिताका साथ सल्लाहकार श्रेष्ठले ज्ञान र क्षमता प्रदर्शन गर्नेमा सभापति श्रेष्ठले विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update