Shittalpati
होली मनाऔं, सभ्य बनौं

मानव इतिहासको आरम्भदेखि वसन्त ऋतुको आगमनको स्वागत गर्ने परम्परा रहँदै आएको छ । देशभरी सद्भाव, प्रेम र हर्षोल्लासका साथ मनाइने चाड फागु वा होली वसन्त ऋतुको आगमनसँगै हाम्रो घरआँगनमा भित्रिसकेको छ । पहाडी भू–भागमा आज र तराईमा भोलि होली मनाइँदैछ । विभिन्न थरीका रंगले खुसी अनि जीवन रंगीन बनाउने, हिन्दूहरूको प्रमुख पर्वको रुपमा रहेको होली पर्व हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात् होली पूर्णिमाको दिन मनाइन्छ । अन्य ठूूला–ठूूला चाड जस्तै रमाइलो गरी मनाइँने होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । हिन्दू धर्म मान्नेहरुको बाहुल्य भएको नेपालमा होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भव्य हुन्छ ।

सद्भाव, सौन्दर्य र रस रङ्गको रङ्गीन पर्व, जातिपाति, छुवाछुत, सानो, ठूूलो, धनी र गरिबको भेदभावलाई भुलेर एउटै रङ्गमा रङ्गिने फागु पर्व समता र सद्भावको प्राकृतिक स्रोत हो । प्राकृतिक सौन्दर्य र रस रङ्गको उमङ्गले सबैलाई तरङ्गित तुल्याउने फागु आनन्द र उल्लासको रङ्गीचङ्गी चाड हो । यद्यपी होलीको नाममा कसैको इच्छा विपरीत रंङ छ्याप्ने, लोला हान्ने, फोहोर पानीमा मोबिल लगायत वस्तु राखेर बाटोमा खेल्ने गरिन्छ । यो चाँहि राम्रो होइन् । यस्ता गतिविधिले संस्कृतिको जगेर्ना नभई बदनामी मात्र गर्दछ । देश भित्र बसोवास गर्ने अधिकांश समुदायको साँस्कृतिक पर्वका रुपमा रहेको होलीलाई मनोरञ्जनका रुपमा मात्र मनाउँदा विकृतपूर्ण बन्दै गएको छ । यसका लागि युवावर्ग सचेत हुन आवश्यक छ । जहाँ, जसरी मनाउने गरे पनि आखिरमा यसपर्वको उद्देश्य एकआपसमा भाइचारा बढाउने, असत्यमाथि सत्यको विजय, खुसीयाली बाँड्नु नै हो । यसर्थ पर्वको नाममा भित्रिएका विभिन्न खालका नकारात्मक विकृति विसंगतिको अन्त्य गर्दै सकारात्मक सोंचका साथ निःस्वार्थ भावनाले आफ्नो घरपरिवार, आफन्त, साथीभाइ, छिमेकी एक आपसमा हाँस्दै, रमाउदै माया, प्रेम साटासाट गरेर मर्यादित तरिकाले यस वर्षको होली पर्व मनाऔं । यस्ता पर्व पूर्खाले सुम्पेका सम्पत्ति हुन् । यिनलाई जोगाउन सकिएन भने पर्वको महत्व कम हुँदै जानेछ । तसर्थ होली पर्वलाई सभ्य र सुुसंस्कृति तरिकाले मनाऔं सबैमा होलीको शुुभकामना !

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update