Shittalpati
कमल राष्ट्रिय सुुकर्म पुरस्कार डा. रचेललाई

पाल्पा, ‘कमल राष्ट्रिय सुकर्म पुरस्कार २०८०’ डा. रचेल कारखलाई प्रदान गरिएको छ । शिक्षा स्वास्थ्य र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले उक्त पुरस्कार युनाईटेड मिसन अस्पतालकी निर्देशक कारखलाई प्रदान गरेको हो ।

प्रतिष्ठानले शनिबार तानसेनमा एक औपचारिक कार्यक्रमका बिच पुरस्कार स्वरुप ५१ हजार नगद दिएको छ । कार्यक्रमका प्रमुख अतिथि लेखक /साहित्यकार झपेन्द्र बहादुर जिसीले उक्त राशीको पुुरस्कार कारखलाई प्रदान गरेका हुन् । पुरस्कार प्रदान गर्दै साहित्यकार जिसीले प्रतिष्ठानले स्वास्थ्यको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएकी डा. कारखलाई पुरस्कृत गरेर पुरस्कारको कदर गरेको बताए । पुुरस्कार वितरणले सच्चा व्यक्तिको छनौट भएकोमा उनले खुसी व्यक्त गरे ।  

विशिष्ट अतिथि प्रतिष्ठानका संरक्षक एवं पुरस्कारदाता प्रकाश राज रेग्मीले पिता कमलराज रेग्मीले गरेको राजनीति, सामाजिक र साहित्यक सेवालाई चिरस्थायी बनाउन पुरस्कार स्थापना गरेको बताए । उनले  ममतामयी माता विमला रेग्मी नर्स समेत रहेकाले उनको स्मृतिमा नर्सिङ पुरस्कार र विद्यार्थीहरूलाई छात्रवृत्ति समेत प्रदान गर्ने गरेको बताए । रेग्मीले आगामी दिनमा पनि यसलाई निरन्तरता दिर्दै जाने प्रतिवद्धता जनाए ।  पुरस्कृत डा. कारखले आफु विदेशी नागरिक भए पनि योगदानको आधारमा पुरस्कृत गरेकोमा प्रतिष्ठानप्रति आभार व्यक्त गरिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा, तानसेन –८ का वडा अध्यक्ष तथा साहित्यकार सोमनाथ अर्याल , मिसन अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जीवन भट्टराई लगायतले सम्मानित व्यक्तित्वलाई बधाई ज्ञापन गर्दै प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको  कामना गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका सदस्य भोजराज भट्टराईले पुरस्कृत व्यक्तित्व छनौट प्रक्रिया र डा. रचेल कारखका बारेमा प्रकाश पारेका थिए ।  साहित्यकार रामप्रसाद अर्यालले स्व. कमल राज रेग्मीको योगदान र सदावहार कमलको सुवास कृति माथि चर्चा  गरे । साहित्यकार कमल खत्रीले स्व. विमला रेग्मीको योगदान र आमाका अविस्मरणीय अतित र म कृति माथि प्रकाश पारेका थिए । प्रतिष्ठानका अध्यक्ष साहित्यकार पुष्कर अथक रेग्मीको अध्यक्षता र उपाध्यक्ष रोहित प्रसाद ज्ञवालीको स्वागत, प्रतिष्ठानका महासचिव चन्द्रकान्त न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

साहित्यकार स्व. कमल राज रेग्मीको स्मृतिमा सुपुत्र प्रा.डा. प्रकाश राज रेग्मीद्वारा स्थापित कमल राज रेग्मी बर्ष पुरस्कारको नाम रूपान्तर गरी यस वर्षदेखि ‘कमल राष्ट्रिय सुकर्म पुरस्कार’ नामकरण गरिएको हो । यस अघि रेग्मी बर्ष पुरस्कारका रुपमा साहित्यकार  झपेन्द्र बहादुर जि.सी., बैधराज विश्वमान बज्राचार्य , समाजसेवी राधा भारती , कलाकार अशोक मान सिंह र शिक्षाविद बुद्धिप्रसाद शर्मा सम्मानित भइसेका छन् ।  प्रतिष्ठानले यो पुरस्कार विभिन्न अवसर पारेर विगत ६ वर्षदेखि प्रदान गर्दै आइरहेको छ । 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update