Shittalpati
सरकारको लक्ष्य अनुसार क्षयरोग निवारणमा लागेका छौं : स्वास्थ्य कार्यालय पाल्पा

पाल्पा,जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले नेपाल सरकारको लक्ष्य अनुसार क्षयरोग निवारणमा लागेको बताएको छ । उसले तानसेनमा पत्रकार सम्मेलन गरी नेपाल सरकारको लक्ष्य अनुसार पाल्पालाई पनि क्षयरोग मुक्त जिल्ला बनाउने अभियानमा लागेको बताएको हो ।

सरकारले सन २०३० सम्म ८० प्रतिशत क्षयरोगको उन्मुलन गर्ने, सन २०३५ सम्म क्षयरोगको निवारण गर्ने र २०५० सम्ममा क्षयरोग मुक्त नेपाल बनाउने लक्ष्य लिएको भन्दै स्वास्थ्य कार्यालयले सोही अनुसार  पाल्पामा काम भइरहेको जनाएको छ ।  उसले विश्व क्षयरोग दिवसको अवसर पारेर पाल्पामा क्षयरोगको अवस्था र आफुुहहरुले अभियान सफल पार्न गरेका प्रयासहरुका बारेमा जानकारी गराएको छ ।  

कार्यालयका प्रमुुख डा. राजेन्द्र गिरीले सरकारको लक्ष्य अनुसार आफुुहरुले  जिल्लामा अभियानलाई तिव्रता दिइएको बताए । उनले २०३५ सम्ममा जिल्लालाई नगन्य रुपमा लैजाने गरी काम  गरेको उल्लेख गरे । डा. गिरीले विरामैहरुकै कारण निवारणमा चूनौति रहेको बताए ।  उनले भने ‘क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने, माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामको सुक्ष्म कीटाणुबाट हुने सरुवा रोग हो । जसको समयमा परीक्षण गराएर औषधि नियमित खानुपर्छ । तर, पाल्पामा क्षयरोगका बिरामीले औषधि नियमित नखाइदिंदा रोगको रोकथाममा चुनौती थपिएको छ । ’ उनका अनुसार क्षयरोगका बिरामीहरूले लामो अवधिसम्म उपचार केन्द्रमा आई दैनिक औषधि सेवन गर्नुपर्ने हुन्छ, तर यसलाई झन्झट मानेर धेरै बिरामी नियमित रूपमा औषधि सेवन गर्दैनन् ।

लगातार दुई हप्ता सम्म लामो खोकि लाग्ने, साँझमा हल्का ज्वरो आउने, शरिर दुख्ने, कमजोरी महसुश हुने,  जस्ता लक्षणहरु क्षयरोगीलाई देखिने डा.राजेन्द्र कुमार गिरीले जानकारी दिए । क्षयरोगीले नियमित रुपमा ९ महिनासम्म औषधी सेवन गरेपछि पुर्णरुपमा निको हुने, रोगीलाई औषधी शुरु गरेको १४ दिन पछी अन्य व्यक्तिहरुमा क्षयरोगका किटाणुहरु नसर्ने स्वास्थ्य कार्यालयका सूचना अधिकारी टिकाराम अधिकारीले बताए ।

सरकारले क्षयरोगको पूर्ण रुपमा निधान गर्नको लागि निःशुल्क रुपमा स्वास्थ्यकर्मीको निगरानीमा ९ महिनासम्म औषधी सेवन गराउने, निःशुल्क रुपमा खकार जाँचको व्यवस्था, क्षयरोगीलाई स्वास्थ्य चौकीसम्म आवतजावत गर्नको लागि यातायातको व्यबस्था मिलाइएको समेत स्वास्थ्य कार्यालयले जनाएको  छ ।  पाल्पामा पत्ता लागेका क्षयरोगीहरुको ९० प्रतिशतको उपचार पुर्णरुपमा सफल भएको बताइएको छ । गत बर्ष पाल्पामा ३ सय ३४ जना क्षयरोगी भेटिएका थिए जसमा २५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा सबै ६० बर्ष भन्दा माथी उमेरका क्षयरोगसँगै अन्य जटिल प्रकार रोगहरु भएका व्यक्ति रहेको कार्यालयले जनाएको छ । यस बर्ष श्रावण देखी फागुन मसान्तसम्म २ सय २७ जना क्षयरोगी भेटिएका छन् । पाल्पाका १० वटै पालिका, मिसन अस्पताल र लुम्विनी मेडिकल कलेजमा निःशुल्क क्षयरोगको खकार परीक्षण हुँदै आएको छ ।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update