Shittalpati
देवेन्द्रको जीवनी : इन्दिराको कृति

अविश्रान्त कर्मशील साहित्यकार देवेन्द्रराज शाक्यको संक्षिप्त जीवनीको रूपमा लेखिएको पुस्तकको नाम हो – “सिर्जनशील सर्जक देवेन्द्रराज शाक्य ।” साहित्यकार इन्दिरा ज्ञवाली पौडेलद्वारा लिखित एवं लुम्बिनी वाङमय प्रतिष्ठानद्वारा प्रकाशित प्रस्तुत कृतिभित्र  लुम्बिनी वाङमय प्रतिष्ठानका अध्यक्ष ऋषि आजादको प्रकाशकीय, साहित्यकार शान्ता शाक्यको शुभकामना, पुष्कर अथक रेग्मीको अमृतोपहार र इन्दिरा ज्ञवाली पौडेलको लेखकीय रहेको छ ।

वि.सं.२००६ साल माघ १ गते पाल्पाको तानसेन नारायण टोलमा जन्मेका देवेन्द्रराज शाक्य पिता चिनिया काजी शाक्य र माता पुतलीदेवी शाक्यका सुयोग्य सुपुत्र हुन् । वि.स.२०२४ मा पिताजीको निधन भएसंगै बुटवलमा बसोबास गर्दै आउनु भएका देवेन्द्रराज शाक्य वि.स.२०८० माघ १ गते देखि ७५ बर्षमा प्रवेश गरेको अवसरमा साहित्यकार इन्दिराजीले अमृतबर्षोपहारको रूपमा कृति प्रकाशन गरि पितातुल्य देवेन्द्रराज शाक्यलाई लिपिबद्ध गरी जिवन्त राख्ने पुनीत सौम्य कर्म गर्नु भएकोमा हार्दिक साधुवाद प्रकट गर्दछु । बैशाख पूर्णिमा, यो बटौली हो, विश्व शान्तिको शहर लुम्बिनी, महामानव बुद्ध ः प्रमुख घटना विवरण, कविता संग्रह ः आमा, बुद्धकालीन केही विहारहरू, जीवनका अनुभूति भाग १ र २, थेरवाद वुद्धधर्म, प्राचीन कोलीय र शाक्य गणराज्य अन्तर्गत बौद्ध सम्पदा, हाम्रो संस्कार र संस्कृति, बुटवलमा बुद्ध धर्म, वेदका भेद, धर्मी शाक्यका पुस्तक समीक्षा संगालो, प्रेरक जातक कथा,गुरु दक्षिणा, लघुतम काव्य संग्रह शीत, लघुतम षडऋतु खण्डकाव्य गोधुली गरि १८ वटा कृति प्रकाशित भइसकेका छन् भने अझै आधा दर्जन कृति प्रकाशोन्मुख अवस्थामा रहेका छन् । संस्थापक अध्यक्ष, विशिष्ट सदस्य, आजीवन सदस्य, सदस्य, सल्लाहकार गरी करिब ३ दर्जन संस्थामा आवद्ध देवेन्द्रराज शाक्यले विभिन्न विधालयमा अध्ययनरत १६ जना विद्यार्थीहरूलाई शैक्षिक छात्रवृत्ति प्रदान गरी अभिभावकत्व बहन गर्नुका साथै करिव ४६ वटा संघ संस्थाहरूमा अक्षयकोषका लागि रकम प्रदान गर्दै आउनु भएकन देवेन्द्रराज शाक्य ३१ वटा पुरस्कार, पदक तथा सम्मानपत्रहरूद्वारा अभिनन्दित भईसकेका छन् । 

बौद्ध विद्वानको रूपमा प्रतिष्ठापित देवेन्द्रराज राज शाक्यले स्थानीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरको गरि आधा दर्जनभन्दा बढी कार्यपत्रहरू प्रस्तुति गर्नुका साथै बौद्ध दर्शनको शोध खोज सोंचसहित लेखन कार्यमा तल्लीन रहदै आएका छन् । “आयु छउन्जेल वायुले केही गर्न सक्दैन” भन्ने तर्क शाक्यको जीवनसंग मृल खाएको छ । उनी मरेर बाँचेका मान्छे हुन्छ अर्थात मृत्युको मुखबाट फर्केका व्यक्ति हुन् । वि. स.२०४० सालमा तानसेन लामीडाँडामा बस दुर्घटना हुँदा बाचेका र पटक पटक मुटुको रोगले ग्रस्त पार्दा पनि मरेर बाचेका छन् देवेन्द्र । असल कर्म र नियमित लेखन कार्यले देवेन्द्र बाँचेका छन् र प्रार्थना छ उनी अझै सतायु बाँच्नेछन् । उल्लेखित कुराका अतिरिक्त धेरै कुराहरू कृतिभित्र समेटिएको छ । शालीन स्रष्टा, बाल्यकाल तथा प्राथमिक शिक्षा दीक्षा, प्राथमिक तह पछिको शिक्षा, किशोरावस्था तथा पितृ शोक, जागिरे जीवन, दाम्पत्य जीवनको शुरूवात, साहित्य सर्जक, समाजसेवी, लेखकको रूपमा, कलाकार देवेन्द्र, आध्यात्मिक तथा धार्मिक भाव, अशल अभिभावक, कुशल प्रशाशक, अक्षयकोषदाता, बटौलीको जिउदो इतिहास देवेन्द्रराज शाक्य, निष्कपट स्वभावको व्यक्ति, स्वयम्वरको औठी नि बेच्यो, पुस्तकालय स्थापना÷नीजी पुस्तकालय, कालले साचेका÷मृत्युको मुखबाट फर्केका व्यक्ति, पुस्तकालय विज्ञ, किताबको किरा, जीवन संगीनीप्रतिको धारणा, कृतज्ञता, अक्षयकोष सहयोग गरेका संघसंस्थाहरू, अभिभावकत्व  ग्रहण, देवेन्द्रराज शाक्यको अन्य विवरण गरी  २६ वटा शीर्षकमा “सिर्जनशील सर्जक देवेन्द्रराज शाक्य” कृति सार्वजनिक भएको छ ।   

कृतिका लेखक इन्दिरा ज्ञवाली पौडेलको यो दोस्रो एकल प्रकाशित कृति हो । यसअघि शीतकाव्य संग्रह “शीत इन्दु” प्रकाशित गरी लघुकाव्यको इतिहासमा एक कदम अघि बढेकी इन्दिराले संयुक्त गजल संग्रह “स्रष्टा सिर्जना पाल्पा” भित्र पनि ८ वटा गजलहरू संग्रृहित गरि प्रकाशनमा ल्याएकी छन् । उनका कथाहरू पनि विभित्र पत्र पत्रिकाहरूमा समेत प्रकाशित हुँदै आएका छन् । पाल्पाको वर्तमान साहित्यको फाँटमा इन्दिरा गद्य र पद्यमा कविता लेख्ने कवयित्री, शीतकाव्यकी अभियन्ता शीत ईश्वर, गजलकार र कथाकारको रूपमा उपस्थित भएकी छन् । पवन कुमारीदेवी श्रेष्ठ पाल्पाली अग्रज नारी साहित्यकार हुन भने बर्तमान समयमा धेरैनै नारीहरूले साहित्यको सिर्जनामा आफूलाई समर्पित गराउदै आएका छन् । कृति प्रकाशन गर्ने नारीहरूको उपस्थिति भने न्यूननै देखिन्छ । 

इन्दिरा ज्ञवाली पौडेलले देवेन्द्रराज शाक्य सन्दर्भ कृति प्रकाशित गरि पात्र देवेन्द्रराज शाक्य र लेखक स्वयंलाई धन्यवाद बनाएकी छन् । शिक्षण पेशामा सम्लग्न इन्दिरा मानव अधिकारकर्मी समेत हुनुका साथै शीत काव्य समाज नेपाली केन्द्रीय कोषाध्यक्ष, पाल्पा जिल्ला अध्यक्ष र पाल्पा साहित्य समाजको सदस्य समेत रहेकी छन् । लघुतम काव्यको क्षेत्रमा शीत, त्रिशूल, हाइकु, षडऋतु, सुसेलीहरू लेखी सामाजिक सन्जालमा संप्रेषण गर्दै आइरहने इन्दिराको लेखकीय भविष्य स्वर्णिम रहेको छ । सफलताको शुभकामना । “सिर्जनशील सर्जक देवेन्द्रराज शाक्य” कृति जीवनीपरक साहित्य भएकोले पठनीय, उदाहरणीय एवं संग्रहणीय रूपमा रहेको छ ।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update