Shittalpati
पानी दिवस र यसको सार्थकता

पर्यावरण, स्वास्थ्य, कृषि, व्यापारसहित जीवनका हरेक पक्षमा पानीको महत्वबारे जागरण गराउन र त्यसको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वभर पानी दिवस मनाइँदैछ । दिवसमा विश्वभर नै स्थानीय र राष्ट्रियस्तरमा विभिन्न कार्यक्रम गरिन्छ । जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पिउने पानीको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वकाबारे सर्वसाधारणमा चेतना जगाउन यो दिवस महत्वपूर्ण रहन्छ । नेपालमा हरेक वर्ष तामझामपूर्वक यो दिवस मनाएर एकदिन भएपनि पानीको महत्व सम्झाउने गरिन्छ । तर पानीको समस्या अहिले विश्वव्यापी चिन्ता र चासोको विषय बन्न पुगेको छ । जनसंख्याको तीव्र वृद्धिसँगै पानीका स्रोतहरु विनाश हुँदै गएका छन् । जसका कारण मानव जीवन थप समस्यामा परेको छैन प्रकृति समेत संकटमा गरेको अवस्था छ । पानी नै जीवन हो । पानीबिना प्राणीको जीवन कल्पना गर्न पनि सकिँदैन । पानी प्रकृतिको महत्वपूर्ण देन, प्राणी जगतका लागि वरदान पनि हो । पानीको अभावमा प्राणी जीवन सम्भव नहुने मात्र होइन, धरतीमा प्राणीको उत्पत्ति सबैभन्दा पहिले पानीमै भएको हो । मानव शरीरको अधिकांश हिस्सा पानीले नै भरिएको हुन्छ । यसै कारण पानीको महत्वलाई कसैले पनि नकार्न सकिदैन । तर विश्वभर पानीको स्रोतको उचित संरक्षण हुन नसक्दा खानेपानीको हाहाकार भइरहेको छ । एकातिर जलवायु परिवर्तन तथा औद्योगिक प्रदूषणका कारण विश्वव्यापी रुपमा पानीका मुहान सुक्दै गएका छन् भने अर्कातिर नदी, खोलाजस्ता पानीको स्रोतको उचित संरक्षण नगरिँदा मानवीय जीवन कष्टकर बन्दै गएको छ । यो अत्यन्त दुखको कुरा हो ।

नेपाल जलस्रोतको दोस्रो धनी देश भएता पनि पानीको उचित व्यवस्थापन नहुँदा समस्या दिन प्रतिदिन बढ्दै जानु चिन्ताको विषय हो । नेपालको संविधानले समेत हरेक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच कायम हुने गरी स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गरेको छ । आमनागरिकलाई खानेपानी तथा सरसफाइको प्रत्याभूत गर्ने भनिए पनि अपेक्षित सफलता हासिल हुन नसक्नु विडम्वनाको कुरा हो । पानीको महत्व बुझाउन एकदिन दिवस मनाएरमात्रै पुग्दैन । पानीको समस्या दिनानुदिन जटिल बन्दै गएको अवस्थामा सरकारले मानवजीवन र प्रकृति संरक्षणका लागि नभई नहुने पानीलाई सर्वसुलभ, गुणस्तरीय र सबैको पहुँचमा पु¥याउन अग्रसर हुनु आवश्यक छ । यसो भयो भने मात्र पानी दिवस मनाउनुले सार्थकता प्राप्त गर्न सक्छ । अन्यथा दिवस औपचारिकतामै सिमित बन्ने निश्चित छ । 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update