Shittalpati
अवस्थाप्रति गम्भीर बन्ने दिन आए

अहिले नेपाली राजनैतिक वृत बहुमूल्य सुनकाण्डका कारण चर्चा र परिचर्चामा रुमलिएको छ । संसदमा वहससँगै सरकार र गृहमन्त्री अनि वर्तमान सरकारका धेरैजसो मन्त्रीहरुका काण्डै काण्डले नेपाली राजनैतिक अवस्थालाई कुहिरोले ढाके जस्तै ढाकिरहेको अवस्था छ । एकले अर्काको राजनैतिक करियर समाप्त पार्ने षड्यन्त्रसँगै अन्तरपार्टी बीच पनि ठूलै शक्ति संघर्षका अवस्था हेर्दा राजनैतिक वृतमा नैतिकता मृत्यु शैयामा थियो, अब औपचारिकरुपमा मृत्युको घोषणा गर्ने काम फटाफट भइरहेको आभाष हुन्छ । संसदबाट कानुनहरु बन्नुपर्नेमा त्यसो भएको छैन । गफगाफ र एकआपसीमा हिलो छ्याप्ने बाहेक खासै केही भएको पाइदैन । संसद सरकार ढाल्ने र सरकार बनाउने अदृश्य यन्त्र जस्तै भएको छ । सभामुख र संसदका जिम्मेवार पात्रहरु विदेश भ्रमणमै मस्त देखिन्छन् । प्रधानमन्त्री मन्त्रालयको बाँडफाँड र सरकार टिकाउने खेल बाहेक अरु कर्म प्रति चिन्तित देखिदैनन् । प्रदेश सरकारहरु अन्यौलताको शिकार भएका छन् । अगामी वर्षको लागि आवश्यक पर्ने नीति, कार्यक्रम र बजेटको नीतिगत व्यवस्थाका लागि कामै अगाडि बढेका छैनन् । जनता जतिसुकै आशावादी भएपनि भरोशा कसैको पनि रहेनछ भन्नेमा पुगेका छन् । त्यसकारण मुलुक अत्यान्त्यै गम्भीर अवस्थाबाट अगाडि बढिरहेको अवस्था प्रति कसैको पनि चिन्ता र चासो भएको पाइदैन ।

बजार तरल छ, आम उपभोक्ताहरु अन्यौलमा छन् । महंगी दिनप्रति दिन बढिरहेको अवस्थाप्रति कसैले पनि नियन्त्रण र असल अनुगगमन गरेको पाइदैन । रोजगारीका हरेक सम्भावनाहरु कमजोर भएका छन् । निजी क्षेत्र सरकारको अस्थिरता देखेर रल्ल टुल्ल जस्तै छ । समग्र रुपमा भन्दा मुलुकको आर्थिक प्रगति शून्य जस्तै छ । हरेक प्रगतिमा राजनैतिक स्थायित्व, पारदर्शिता आवश्यकपर्ने कुरा गफ जस्तै भए, व्यवहारमा लागु भएनन्, अब के गर्ने ? कसरी गर्ने ? भन्ने प्रश्नहरुका जवाफहरु कुनै पनि तहबाट प्राप्त गर्न सकिने अवस्था देखिदैन । त्यसकारण हरेक नागरिक अब चिन्ता र चासोका साथ अगाडि नबढ्दासम्म देशले निकास पाउदैन ।  मुलुकलाई नयाँ तौर तरिका र जनताका न्यूनतम आवश्यकता परिपूर्ति गर्ने सोंच र नीतिलाई कार्यान्वयन गरौं । अनि बल्ल मुलुक बन्छ । अन्यथा हामी कहिल्यै पनि समुन्नत समाजको परिकल्पना गर्न सक्दैनौ ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update