Shittalpati
सामाजिक सेवा दिवसको सार्थकता

‘रुपान्तरित परिवर्तनका खातिर साझा भविष्य’ भन्ने नाराका साथ आज सामाजिक सेवा दिवस मनाइँदैछ । २०३४ सालमा समाज कल्याण परिषद् स्थापना भएको दिन पारेर यो दिवस मनाउने गरिन्छ । समाज सेवासँग सम्बन्धित विभिन्न क्रियाकलापलाई विकास निर्माणका कार्यहरूसँग जोडेर समाजका कमजोर तथा असहाय व्यक्ति, वर्ग र समुदायलाई जीवनयापन गर्न सक्षम बनाउन समाज कल्याण परिषद् गठन गरिएको थियो । परिषद् गठन भएको दिनको अवसर पारेर हरेक वर्ष यो दिवस मनाइँदै आइएको छ । यो दिनले सामाजिक सामाज सेवकहरुको कडा परिश्रम र लगनशीलतालाई मान्यता दिन्छ । त्यति मात्र होइन सामाजिक कार्यकर्ताहरू र सामाजिक सेवा क्षेत्रमा रहेका अन्य व्यक्तिहरूका लागि आफ्ना उपलब्धिहरू मनाउने अवसर हो यो । सामाजिक कार्यकर्ताहरूले हाम्रो समुदायमा धेरै भूमिकाहरू खेलेका हुन्छन् । समाज रुपान्तरणका लागि उनीहरुले खेलेको भूमिका विर्सनु हुँदैन । यद्यपी अझै पनि सामाजिक कार्यलाई अन्य विषयजस्तै स्वीकार्न नसकिएको अवस्था भने विद्यमान छ । यसो हुनु राम्रो होइन । सामाजिक कार्यकर्ताको भूमिकाको सही मूल्यांकन गरिनुपर्छ । आज त्यो मूल्याङ्कन गर्ने दिन पनि हो ।

समाज सेवा देश विकासका लागि एउटा मेरुदण्ड र विशुद्ध सेवामूलक काम हो । तर पछिल्लो समय समाज सेवाको नाममा कही कतै ब्रम्हलूट पनि भएको हामीले समाचार सुनेका छौं । समाजसेवीको नामबाट गलत क्रियाकलाप पनि नभएका हैनन् तर त्यो समाज सेवाको रथ हाक्ने जिम्मा मानिसले लिएका हुन्छन् । समाजसेवा पवित्र कार्य हो भने समाजसेवीको चरित्र तथा दरिद्र मानसिकताबाट समाज सेवामा कालो धब्बा लाग्दछ । जसले गर्दा समाजसेवा गर्ने संस्थाहरु नै बदनाम बन्न पुगेका छन् । यसो हुनु गलत हो । समाजमा निस्वार्थ रुपमा समाज सेवामा लागेका व्यक्तिहरु थुर्‍प्रै छन् तर केही बदनीयत भएका व्यक्तिहरुका कारण उनीहरु ओझेलमा पर्नु राम्रो होइन् । निस्वार्थ रुपमा सामाजिक सेवामा समर्पित हुने व्यक्तिहरुको मनोवलाई उच्च बनाइनुपर्छ । त्यसो गर्न सकियो भने मात्र सामाजिक सेवा दिवस मनाउनुले सार्थकता प्राप्त गर्न सक्छ । अन्यथा दिवस औपचारिकतामै सिमित बन्न पुग्छ ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update