Shittalpati
नयाँ गठबन्धन र प्रतिपक्ष

नयाँ गठबन्धन बनेपछि प्रतिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीचको घोचपेच चलेको छ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ उचित कदम भन्दै सम्बोधन गरे पछि भने प्रतिपक्षले नयाँ गठबन्धनको विरोध गर्दै आएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्री यही गतिमा हिँड्ने हो भने १३ पटक गठबन्धन फेरिने बताएको छ । नयाँ गठबन्धनमा सहभागी एमालेले भने यसलाई स्वभाविक संसदीय परम्पराको रूपमा लिनुपर्ने बताएको छ । शुक्रबारको प्रतिनिधि सभाको बैंठकमा समेत प्रमुख प्रतिपक्ष काँग्रेसले सहकारी ठगीमा संलग्न व्यक्तिलाई गृहमन्त्री नियुक्त गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहालबाट जवाफ माग्दै संसद् अवरुद्ध गर्न पुुगेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा त्यसका अध्यक्ष जीबी राईसहितको समूहले पोखरा, चितवन, बुटवल, वीरगन्ज, नेपालगन्ज र काठमाडौंका सहकारीका बचतकर्ताको करोडौं रकम हिनामिना गरेको आरोप कांग्रेसले लगाएको छ । यो प्रकरणमा गृहमन्त्री लामिछानेसमेत संलग्न भएको देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चित्तबुझ्दो जवाफ दिनुपर्ने माग काँग्रेसको छ । उसले अहिले  यही कुरालाई केन्द्रविन्दुुमा राखेर प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको छ ।

सामान्यतः लोकतान्त्रिक शासन व्यवस्थामा बहुमत प्राप्त दल वा गठबन्धनले सत्ता सञ्चालन गर्ने र अन्य दल प्रतिपक्षमा रहने प्रचलन छ । सोही अनुुसार काँग्रेससहितका केही दलहरु अहिले प्रतिपक्षको भूमिकामा रहेका छन् । सरकारी लापरवाही, भ्रष्टचार, गैरजिम्मेवारीपन तथा ढिलासुस्तीविरुद्ध आवाज उठाउनु जिम्मेवार प्रतिपक्षको मुख्य भूमिका हो । त्यसैले, जनसरोकार र राष्ट्रियताका सवालमा यो समूह बढी चिन्तित, संवेदनशील अनि रचनात्मक हुनैपर्छ । यद्यपी  संविधानको भावना अनुसार सत्ता र प्रतिपक्षबीच सिर्जनात्मक सम्बन्ध स्थापित हुन सकेको छैन् । यो अत्यन्त दुखको कुरा हो । संसद् रचनात्मक बन्नुुपर्छ । सधै भरी संसद् अवरोध गर्नु पनि राम्रो होइन् । सत्तापक्षले पेल्नैपर्छ र विपक्षले विरोध गरिरहनुपर्छ भन्ने संस्कृतिले हाम्रो संसदीय राजनीति घृणित बन्न थालेको छ । यस्तो हुुनुु गलत हो । अघिल्ला संसद्मा प्रतिपक्षले धेरै दिन अवरुद्ध पारेको गलत नजिर अहिले फेरि दोहोरिनुु हुुँदैन । सरकारले प्रतिपक्षले उठाएका जायज मागहरुलाई तत्काल सम्बोधन गर्नुपर्छ र प्रतिपक्षले पनि सत्ता स्वार्थका लागि मात्रै नभई जनसरोकारका विषयमा आफ्ना आवाजलाई  रचनात्मक ढंगले राख्नुु पर्छ । जल्दाबल्दा समस्याप्रति गैरजिम्मेवार बन्नु कसैका लागि पनि फलदायी हुँदैन । यसर्थ सरकार र प्रतिपक्षले सुुझ, बुुझका साथ आफ्ना गतिविधिहरु अगाडि बढाउन जरुरी छ ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update