Shittalpati
  रक्तसञ्चार केन्द्र स्थापना गर्न स्थानीय सरकारको सहयोग आवश्यक : प्रजिअ काफ्ले

पाल्पा,  पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले रक्तसञ्चार केन्द्र स्थापनाका लागि स्थानीय सरकारको आवश्यक रहेको बताएका छन् । नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाको ४६ औं साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै उनले रेडक्रस एक्लैले रक्तसञ्चार केन्द्र स्थापना गर्न कठिन हुने भन्दै जिल्लाका सबै स्थानीय सरकारको सहयोग आवश्यक रहने बताएका हुन् । 

विपद् तथा मानव सेवामा काम गर्ने एक मात्र संस्था रेडक्रस भएकाले सबैले सहयोग गर्नुपर्नेमा प्रजिअ काफ्लेले जोड दिए । रेडक्रसले कुनै भेदभाव नगरी निष्पक्ष रुपमा काम गर्ने नीति नियम भएकाले सरकारी तथा गैरसरकारी पक्षबाट पूूर्ण सहयोग हुनुुपर्ने उनले बताए । प्रजिअ काफ्लेले भने ‘पाल्पामा निकट समयै सञ्चालन हुन लागेको रक्तसञ्चार केन्द्रलाई पूर्ण रुपमा सञ्चालन गर्नको लागि पाल्पाका दश वटै स्थानीय सरकार, विभिन्न तह र तप्कामामा प्रजिअको हैसियत समन्वय गर्छुु ।’ जिल्ला प्रशासन कार्यालय पाल्पाबाट रेडक्रसको लागि गर्नुपर्ने जुनसकै सहयोग, समन्वयमा कुनै कमी हुन नदिने समेत उनले प्रतिवद्धता जनाए ।

रेडक्रसका पूर्व जिल्ला सभापति पूर्णमाया महर्जनले भाषण भन्दा पनि काम गर्नु पर्ने बेला आएको बताइन्। उनले भनिन्‘ पदमा बस्ने तर काम नगर्ने गर्ने राम्रो होइन, रेडक्रसमा लाग्ने व्यक्तिहरु मानव सेवा प्रति निस्वार्थ भावनाले लाग्नुपर्छ ।’ कार्यक्रममा पिपलडाँडा उपशाखाका सभापति श्यामप्रसाद अर्याल, माथागढी उपशाखाका सभापति तारा रसालीले जिल्ला शाखाले उपशाखालाई बढी–बढी बलियो बनाउनु पर्ने, अधिकारहरु प्रत्यायोजन गर्नुपर्ने, उपशाखासँग जिल्ला शाखाले समन्वय गरेर काम गर्नूपर्नेमा जोड दिए । पछिल्लो कार्यसमितिले उपशाखाहरुलाई केहि आत्मसम्मान हुने गरी कार्यक्रमहरु गरेको, धारणसभामा समेत उपशाखाहरुलाई बोल्ने अवसर प्रदान गरेकोमा उनीहरुले शाखालाई धन्यवाद दिए ।

कार्यक्रममा श्रीनगर युवा रेडक्रस सर्कलका सभापति सुदर्शन पाण्डेले समुह भित्र अधिकाशं सदस्यहरु क्याम्पसका विद्यार्थीहरु रहेकाले आफ्नो खाजा खर्च कटाएर मानव सेवामा सक्रिय रहँदै आएको बताए ।साधारण सभामा उत्कृष्ट काम गरेकोमा श्रीनगर युवा रेडक्रस सर्कललाई नगदसहित सम्मान गरिएको छ विशिष्ट सदस्य लिने व्यक्तिहरु  साधारणसभामा सम्मानित भएका छन् । साधारण सभामा मन्त्री केवशराज नेपालले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष सन्तोष खनालले आर्थिक प्रतिवेदन र आगामी बर्षको अनुमानित आय–व्यय प्रस्तुत गरेका थिए । संस्थाका सभापति बाबुराम कार्कीको अध्यक्षता, उपाध्यक्ष भिमसेन कार्कीको स्वागत, उपाध्यक्ष विनिता लुइटेलको ७ सिद्धान्त बाचन, मन्त्री केवशराज नेपालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update