Shittalpati
राष्ट्रिय सभाको गरिमा नभुलुन्

राष्ट्रिय सभा अध्यक्षका लागि आज निर्वाचन हुँदै छ । रिक्त अध्यक्ष पदका लागि २ जनाले उम्मेदवारी दिएका छन् । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएपछि अध्यक्षको निर्वाचन हुन लागेको हो । अध्यक्षमा सत्ता गठबन्धनबाट माओवादीका नारायण दाहाल र काँग्रेसबाट युवराज शर्मा चुनावी मैदानमा उत्रिएका छन् । स्थायी सदन मानिने राष्ट्रिय सभामा रिक्त रहेका सदस्यको यस अघि नै निर्वाचन भइसकेको छ । एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने भएकाले पहिलो पटक २०७४ साल फागुनमा निर्वाचित सदस्यको छ वर्षे पदावधि सकिएको छ । यससँगै राष्ट्रिय सभाको एक चक्र पूरा भएको छ । राष्ट्रिय सभा अर्थात् माथिल्लो सदनलाई स्थायी सदन र बौद्धिक सभाका रूपमा लिइन्छ । तल्लो सदन प्रतिनिधिसभाबाट भएका त्रुटि सच्याउने र तल्लो सदन रिक्त हुने अवस्थामा सरकारलाई जवाफदेही बनाउने सदन राष्ट्रिय सभा नै हो । तर, दलहरूको सत्ता स्वार्थका कारण राष्ट्रिय सभा संविधानको मर्मअनुसार चल्न सकेको छैन । सुरुदेखि नै राष्ट्रिय सभाको निर्वाचन र मनोनयन विवादरहित छैन । न त राष्ट्रपतिबाट मनोनीत हुने सदस्यको मनोनयन नै प्रश्नबाट मुक्त भयो । संसदीय प्रणालीमा राष्ट्रिय सभा अर्थात् माथिल्लो सदनलाई विज्ञहरूको भेलाका रूपमा पनि मानिन्छ । तर, हाम्रो देशको राजनीतिक संस्कारले यो गर्व गर्ने अवस्था बन्न दिएको छैन । यसमा राखिएका क्लस्टरमा सबै क्षेत्र, वर्ग, लिंग समेटिने व्यवस्था भए पनि त्यहाँ कति योग्य व्यक्ति ल्याइए भन्नेले अर्थ राख्छ । तर त्यसो हुन सकिरहेको छैन ।

राष्ट्रिय सभाको प्रमुख कार्य कानुन बनाउने, सरकारलाई उत्तरदायी बनाउने, नियमन र निर्देशन गर्ने हो । तर सभा त्यसो हुन सकिरहेको छैन । सधैँ किचलो भइरहने मर्यादाको विषयलाई राष्ट्रिय सभाले भुुल्ने गरेको छ । यसो हुनुु राम्रो होइन । आज हुुने अध्यक्ष पदको निर्वाचनबाट निर्वाचित भएर आउने व्यक्तिले सभाको गरिमालाई उचाईामा पुुर्‍याउन आवश्यक छ । अध्यक्षमा निर्वाचित हुने व्यक्ति जुनसुुकै पार्टीको भएपनि होस् । तर सभाको गरिमालाई जोगाई राख्ने र त्यसलाई थप उचाईमा पुुर्‍याउने व्यक्ति अहिलेको आवश्यकता हो । यो अध्यक्षको लागि गुमेको गरिमा फर्काउने अवसर पनि हो । सभालाई सार्थक बहसको थलो बनाउनेदेखि सरकारलाई जवाफदेही बनाउन प्रभावकारी भूमिका खेल्ने र खस्किएको गरिमा उकास्न ध्यान दिन सक्ने व्यक्ति अध्यक्षमा निर्वाचित हुन सकुन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update