Shittalpati
गठबन्धनको कहर

नेपाली राजनीतिले यो साता नया कहर थपेको छ । देशले प्रचण्डमयी तापलाई पूर्व र पश्चिम दिशादेखि परपीडा भएको अनुभूत गरिरहेको छ । अप्रत्यासित रुपमा देखापरेको सत्ता समीकरणमा देखापरेको परित्यक्ततासँगै अर्काे सामिप्यताले गर्दा देशले कुन क्षणमा के कस्ता सारथी प्राप्त गर्छ भन्ने कुराको अनुमान र कल्पना गर्नै गाह्रो भएको महशुस भएको छ । भर्खरमात्रै भएको सत्ता गठबन्धनका साथ बन्ने सरकारको आकार प्रकार र कार्यदिशा के कस्ता बन्ने हुन भन्ने जिज्ञासा अहिले जताततै व्याप्त छन् । यी र सबै खाले व्याप्त चर्चा र जिज्ञासाका जवाफ भने आमजनताका आवश्यकताले हरेक कोणबाट खोजिरहेको अनुभूती भइरहेको छ । प्रचण्ड अर्थात हिजो र आजका प्रधानमन्त्री पुष्पकमल दाहालको राजनैतिक वृतचित्रले हरेक कोणमा उनैलाई खोजी गरिरहेका छन् र सधैँ त्यसको जवाफ राजनेताहरुले दिनै पर्नेहुन्छ । नेपाली राजनेताहरु प्रति आमजनमानसले चाहेको आशा र विश्वासलाई कुन रुपमा नतिजा खोज्ने हुन् भन्ने कुराप्रति अझै पनि वेवास्ता गरियो भने भोलिको मुलुक पूर्व र पश्चिमका शक्तिकेन्द्रहरुको दास हुने बाहेक अरु केही पनि हुन सक्दैन । 

नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र जस्ता ठुला पार्टीहरुले आफ्नो शक्ति र योगदानलाई बिर्सिए भने देशमा सधैँभरि राजनैतिक अस्थिरताको सिकार भइरहने समस्या समाधान हुन सक्दैन । त्यसकारण पुराना दलहरुका अनुभव र नयाँ पुस्ताको जोसलाई फ्युजनका रुपमा अगाडि बढाउँदै, राजनैतिक स्थिरताको पाटोलाई फराकिलो गर्नुपर्ने हुन्छ । अन्यथा नेपाली जनता र मुलुकले सधैँभरि गठबन्धनको कहर सहने बाहेक अरु केही पनि हुन सक्दैन । त्यसकारण परिपक्व राजनैतिक चरित्रमा इमानदारिता आवश्यक छ ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update