Shittalpati
‘सीमा समस्या समाधानका लागि ऐक्यवद्ध’

रुपन्देही । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले सीमा समस्या समाधानका लागि ऐक्यवद्ध हुन सबैमा आग्रह गरेका छन् । सामाजिक सञ्जाल मार्फत शनिबार उनले लकडाउनका समयमा सीमाको समस्याका विषयमा कुरा उठेकाले सबै मिलेर यसको समाधान गर्नुपर्ने बताएका हुन् । ‘लकडाउनले खुला सीमाको समस्या उजागर गरेका बेला कालापानी क्षेत्रको किचलो नेपाललाई सीमा समस्या समाधान गर्ने अवसर हो’, उनले उल्लेख गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले भारतबाट आएका नागरिकलाई अनिवार्य कोरोना परीक्षण गराउन समेत आग्रह गरेका छन् । उनले प्रदेशका विभिन्न जिल्लामा भारतबाट आएका नागरिकमा कोरोना संक्रमण देखिएका कारण परीक्षण गराएर मात्र घर जान आग्रह गरे । मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘दक्षिण भारत र दिल्लीबाट आएका प्रदेश ५ का सबै अनिवार्य रुपमा कोभिड–१९ को परीक्षण गराएर मात्र घर जानुहोला ।

परीक्षण निःशुल्क छ ।’ यसअघि मुख्यमन्त्री पोखरेलले भारतबाट लुकिछिपी आउने नागरिकका बारेमा सुरक्षा निकायलाई जानकारी दिई नजिकको क्वारेन्टिनमा राख्न लगाउन आग्रह गरेका थिए । उनले समुदायलाई कोरोनाबाट जोगाउन सबैसँग आग्रह समेत गरेका छन् । –रासस

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update