Shittalpati
निर्यातले बढाएको खुसी

नेपालमा अधिकांस वस्तुहरु बाहिरबाट आयात भइरहेको बेला सिमेन्ट र विजुली निर्यातले केही खुसी दिएको छ । खाद्यान्नदेखि हरेक वस्तु पूर्ति गर्न छिमेकी र अन्य देशमा भर पर्नुपर्ने नेपालको नियति छ । जसका कारण व्यापार घाटा बढाउन सघाएको छ । व्यापार घाटाका हिसाबले मात्र हैन, भ्रष्टाचारले पनि उत्तिकै आक्रान्त छ मुलुक । यस्तो अवस्थामा सिमेन्ट र विजुली निर्यातको बढ्दो ग्राफले भने केही आशा जगाएको छ । चालु आर्थिक वर्षको सात महिनामा अघिल्लो आर्थिक वर्षको यही अवधिको भन्दा सात गुणाले नेपाली सिमेन्ट निर्यात बढ्नु सकरात्मक खबर हो । आर्थिक वर्ष २०८०/८१ को पहिलो सात महिनामा दुई अर्ब ६ करोडको सिमेन्ट र क्लिंकर भारत निर्यात भएको छ । जबकि अघिल्लो एक वर्षमा ७७ करोड ९३ लाखको मात्र निर्यात भएको थियो । नेपालले विद्युत निर्यातमा समेत फड्को मारेको छ । विगतमा ठूलो मात्रमा विजुली आयात गर्दै आएको नेपालले पछिल्लो केही समय यता भने निर्यात गर्न थालेको छ ।

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मात्र १३ अर्ब ३८ करोड ५६ लाखको विद्युत भारतलाई बेचेको छ । सोही अवधिमा १ अर्ब ९८ करोड ६२ लाखको विद्युत मात्र आयात भएको छ । प्राधिकरणको सो तथ्यांकले कालोे बादलमा चाँदीको घेरा देखाएको छ । सरकारले कैयौंपटक प्राधिकरणको अर्बौंको घाटालाई अपलेखन गर्दै सामान्य बनाउने प्रयास गरे पनि प्राधिकरणले खर्च धान्न सक्ने स्थिति थिएन । विद्युत आपूर्ति बढेसँगै प्राधिकरणको वित्तीय अवस्थामा सुधार हुँदै गएको हो । प्राधिकरणको नाफा वृद्धि र भारतमा विद्युत निर्यात बढेको पृष्ठभूमिमा प्राधिकरणको वित्तीय स्वास्थ्यमा सुधार मात्रै भएको छैन, नेपालको व्यापार घाटा न्यूनीकरणमा पनि सहयोग पुगेको छ । सम्पूर्ण आर्थिक सूचकहरू नकारात्मक देखिएका बेला सिमेन्ट  र विजुली निर्यातले देखाएको यो हिसाब सकारात्मक संकेत हो । उत्पादन र व्यापार रणनीति ठिक भए भोलि उज्यालो दिन छ है भन्ने संकेत गर्नु सकारात्मक पक्ष हो । उसै त नेपालको निर्यात व्यापार चिन्तालाग्दो छ । बढ्दो आयातले मुलुकको आर्थिक अवस्थामा अत्यन्त कमजोर भइरहेका बेला यी दुई वस्तुको निर्यातमा देखिएको तथ्यांक पक्कै पनि आशाको सञ्चार गराउन काफी छ । यसलाई निरन्तरता दिन सकियो भने पनि मुलुकको आर्थिक अवस्था कमजोर हुने थिएन ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update