Shittalpati
गठबन्धनभित्रको खटपट

अहिले एकाएक गठबन्धनभित्र खटपट पैदा भएको छ । राष्ट्रिय सभा निर्वाचन र काँग्रेसको महासमिति बैठकबाट सत्ता गठबन्धन दल नेकपा माओवादी र काँग्रेसबिच खटपट सिर्जना भएको प्रतित हुन्छ । राष्ट्रिय सभा निर्वाचनमा काँग्रेसले घात गरेको र महासमिति बैंठकमा गठबन्धन नगर्ने गरी जाने भन्ने विषयले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट बन्दै आएका छन् । राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने निर्णय समेत गरेको छ । प्रचण्डका पछिल्ला गतिविधिहरु समेत हेर्दा नेकपा एमालेका अध्यक्ष केपी ओली शर्मासँग भेटघाट र छलफल समेत गर्ने गरेकाले कतै गठबन्धन टुट्ने त हैन भन्ने आशंका समेत पैदा भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दाहाललाई फकाउन मन्त्रिपरिषद् पुर्नगठनदेखि पार्टीको महासमिति बैठकबाट पारित दस्ताबेज परिमार्जन गर्न सकिने सम्मको संकेत दिएका छन् । तर माओवादी अध्यक्ष दाहाल भने अत्यन्त चतुर राजनीतिज्ञका रूपमा चेसका प्यादा चलाएजस्तो चाल चालिरहेको प्रतित हुन्छ । अब सर्तअनुसार अर्को पार्टीलाई प्रधानमन्त्री पद छोडिदिनुपर्ने अवस्था आउँदै छ ।

अहिलेदेखि नै यस्ता खोचे थापेर सौदाबाजीका कुरा उठाउँदै गर्ने हो भने आफ्नो पार्टीको आयु अलिक लम्बिन सक्छ भन्ने प्रचण्डलाई लागेको हुनसक्छ । यसका लागि उनको अस्थीर स्वभाव र गोटी चालको दिशाले प्रचण्डलाई एमालेसँग पुनः सम्झौता गर्न पुर्‍ययाउन पनि सक्छ । एमालेको चाहना पनि यतिखेर प्रचण्डको सोच अनुकुल हुनसक्छ । जसरी भएपनि गठबन्धनभित्र खटपट पैदा गराएर दरार खडा गर्न पाए हुन्थ्यो भन्ने उसको मनसाय हुनुलाई स्वाभाविक मान्न सकिन्छ तर एक भएर रहेका दलहरू भने कसैले पैदा गर्न खोजेको हावा हुण्डरीबाट विचलित नहुनुपर्नेमा आफैंभित्र मनमा तिलजौ पकाएर बस्नु असान्दर्भिक अवस्थाको सिर्जना गर्नु हो । अबको गठबन्धन सरकारमा रहने कि नरहने भन्ने प्रश्न चिन्हको रुपमा उब्जिएको छ । एकातिर गठबन्धनको एउटा पार्टी माओवादी केन्द्र नेपाली कांग्रेससँग असन्तुष्ट रहनु र नेपाली कांग्रेसको एउटा पक्ष पनि माओवादीसँग असन्तुष्ट रहनुले कतै गठबन्धनको आयु यति नै त होला भन्ने आम बुझाई रहेको छ । जे भए पनि जनताकोे चाहना भने सरकार परिवर्तन हुनु र गठबन्धन दल टुट्नुपर्छ भन्ने होइन । उनीहरुको एक मात्र चाहाना जसले गरे पनि देशको विकास र समृद्धि होस् भन्ने हो । यसर्थ राजनीतिक दलहरुले पार्टी र सत्ताको स्वार्थ भन्दा माथि उठेर जनताको हितमा सोच्न जरुरी छ ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update