Shittalpati
पाल्पामा मापदण्ड विपरीत सञ्चालनमा आएका खानी रोक्न वाइसीएलले गरायो सिडियोको ध्यानाकर्षण

पाल्पा, नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) पाल्पाले जिल्लामा  मापदण्ड विपरीत सञ्चालित चुनढुङ्गा खानी रोक्न पाल्पाका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । वाइसीएलले प्रमुख जिल्ला अधिकारी आनन्द प्रसाद काफ्लेलाई भेटेर मापदण्ड विपरीत सञ्चालनमा आएका चुनढुङ्गा खानी रोक्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

 मापदण्ड विपरीत उत्खनन र ढुवानीले मानवीय जोखिम तथा वातावरणीय असन्तुलन भएको वाइसीएलको ठहर छ । जिल्लाका ज्यामिरे, रहवास, हात्तीलुङ, मस्याम, मरेक, कोलडाँडा, श्रीडांडा, कंचल, सिद्धेश्वरमा सञ्चालित अधिकांस चुनढुङ्गा खानी मापदण्ड विपरीत उत्खनन र ढुवानी भइरहेको वाइसीएल जनाएको छ । यी खानीहरुमा जथाभावी रुपमा उत्खनन् हुँदा जंगल मासिने, पानीको मुहान सुक्ने, कृषि उत्पादनमा ह्रास आउने जस्ता समस्या देखिएको भन्दै त्यसलाई तत्काल रोक्ने दिशामा ध्यान दिन वाइसीएलका जिल्ला  संयोजक कमल श्रेष्ठले प्रजिअ काफ्लेलाई आग्रह गरे ।

 खानीमा सञ्चालित टिपरले क्षमता भन्दा बढी चुनढुङ्गा ढुवानीका कारण सडक समेत अस्तव्यस्त बन्ने गरेको र स्थानीयको भान्सादेखि ओछ्यानसम्म धुलो पुगेर स्वास्थ्यमा असर पुर्‍याएकाले त्यसतर्फे ध्यान दिनुुपर्ने संयोजक श्रेष्ठको भनाई छ ।  

चुनढुङ्गा खानी सञ्चालन आइइए र माइनिङङ्ग स्किम अनुसार उत्खनन् गरिनुुपर्ने, स्वास्थ्य र कृषि क्षेत्रमा भएका हानीनोक्सानी न्यूनीकरण गर्नुपर्ने, खानी प्रभावित क्षेत्रका स्थानीय बासिन्दासँग गरिएको सम्झौता कार्यान्वयन गर्नुपर्ने, प्राकृतिक स्रोतमाथिको दोहन र चुरेमा पर्न गएको असरमा यसको दिगो रुपमा समधान गर्नुपर्ने, विभिन्न सामाजिक सांस्कृतिक विकृति तथा विसंतिलाई रोक्ने, चुनढुङ्गा ढुवानी क्षमता भन्दा बढी बोक्नमा रोक लगाउनुपर्ने लगायतका माग वाइसीएलले राखेको छ ।

नेकपमा माओवादी पाल्पाका अध्यक्ष राजेन्द्र विश्वकर्माले चुनढुङ्गा खानी मापदण्ड अनुसार सञ्चालन हुन नसकेका कारण मानवीय तथा प्राकृतिक सौन्दर्यता गुमेको बताए । उनले भने ‘खानीहरु सरकारको मापदण्ड अनुसार चल्नुपर्छ हैन भने तिनीहरुलाई तत्काल कानुनी कारवाही गरिनुपर्छ ।’ प्रजिअ काफ्लेले भने यस विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै वास्तविकता अध्ययन गरेर जायज मागहरु सम्बोधन गरिने बताए ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update