Shittalpati
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा सात जनाको मृत्यु

पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछट्टै घटनामा सात जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विभिन्न जिल्लामा भएका सवारी साधन,आगलागी र करेन्ट लागेर सात जनाको मृत्यु भएको हो । 

दाङ र सुनसरीमा भएका सवारी साधन दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दाङको घोराही उपमहानगरपालिका–४ गोग्लीस्थित घोराही सिमेन्ट लिमिटेड कम्पनीभित्र रा.१ क १२७८ नम्बरको टिपरको ठक्करबाट सोही उपमहानरपालिका–३ बस्ने ३० वर्षीय नारायण शर्माको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 यस्तै सुनसरीको रामधुनी नगरपालिका–४ मानपुरस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । प्रदेश १–०२–०४७ प २०४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही नगरपालिका–९ का २४ वर्षीय करण चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस्तै आगोमा जलेर एक जनाको मृत्यु भएको छ । रोल्पाको माडी गाउँपालिका–५ चरीकोटका ७५ वर्षीया हरिकला घर्तीको घरमा आगलागी हुँदा जलेर घर्तीको मृत्यु भएको हो । आगलागीबाट करिब ८ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

 यस्तै करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । झापा र डडेल्धुराका छुट्टाछुट्टै  स्थानमा     करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । झापाको बाह्रदर्शी गाउँपालिका–६ मिलनचोकका २८ वर्षीय बुद्धराज लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ । सोही ठाउँस्थित खेतको खाल्डोमा जमेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । डडेल्धुराको आलिताल गाउँपालिका–८ सुनखोलामा व्याट्रीद्वारा माछा मार्ने क्रममा करेन्ट लागेर डोटी जोरायल गाउँपालिका–१ गैराका ३० वर्षीय राजु विकको मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको जोगबुढा अस्पताल डडेल्धुरामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै नुवाकोटको किस्पाङ गाउँपालिका–५ नाप्रङ्चेत प्लोरो पाखास्थित जलकन्यादेवी सामुदायिक वनको गोरेटो बाटोमा  एक जना मृत अवस्थामा फेला परेका छन् । रसुवा उत्तरगया गाउँपालिका–२ डाँडागाउँ बस्ने ७३ वर्षीय भुन्टे भट्ट भन्ने टेक प्रसाद भट्ट मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।  चितवनको भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कस्थित स्वस्तिक होटलमा गोरखा भिमसेन गाउँपालिका–५ घर भएका ८२ वर्षीय कृष्ण बहादुर भट्ट पनि मृत अवस्थामा फेला परेका छन् । 
    

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update