Shittalpati
आज मगर एकता दिवस मनाइँदै, पाल्पाका स्थानीय सरकारले दिए सार्वजनिक विदा

शर्मिला थापा मगर
पाल्पा, मगर समुदायले आज पाल्पासहित देशैभर ४२ औं  नेपाल मगर संघ स्थापना एवं मगर एकता दिवस मनाउँदैछन् । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ–संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । 

मगर जातिको अधिकार र अस्तित्वको रक्षाको लागि एकजुट भएर लागेको सम्झन अर्थात् संघको स्थापनाको अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आइएको छ । हरेक वर्ष विश्वभरी छरिएका मगरहरुले अत्यन्त हर्ष, उल्लास, उमंग र जोशका साथ मगर दिवस धुमधामले मनाउने गर्छन् । ५२ प्रतिशत भन्दा बढी मगर समुदाय रहेको पाल्पामा पनि भव्य रुपमा यो दिवस मनाइँदै छ । पाल्पा आफैमा मगरी कला संस्कृतिले धनी जिल्ला हो । मगरहरुको आधाभन्दा बढी जनसंख्या भए पनि परम्परागत कला संस्कृति दिनहुँ हराउँदै गएपछि मगर समुदायका संघ संस्थाहरु जर्गेनामा जुटेका छन् । दिवसको अवसरमा मगर बाहुल्यता रहेका दशवटै स्थानीय सरकारले सार्वजनिक विदा दिएका छन् । यहाँका तानसेन नगरपालिका, रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला, माथागढी, तिनाउ, बगनासकाली, रैनादेवी छहरा, रम्भा, र रिब्दीकोट गाउँपालिकाले सार्वजनिक विदा दिएका हुन् । स्थानीय तहले कार्यपालिका बैठक बसी मगर दिवसका दिन पालिकाभित्र बिदा दिने निर्णय गरेको बताएका छन् । उनीहरुले सामुदायिक सहिष्णुता जोगाउन बाहुल्यता रहेका समुदायको खुसीका लागि बिदा दिने निर्णय गरेको बताएका छन् । पालिकामा रहेका मगर समुदायले सामाजिक संस्कार जोगाइराख्न दिवसको अवसरमा सरसफाइदेखि विभिन्न सांस्कृतिक कार्यक्रम समेत गर्ने भएकाले यसले आम स्थानीय बासिन्दामा रौनक थप्ने विश्वास  यहाँका स्थानीय सरकारले लिएका छन् ।

जिल्लामा नेपाल मगर संघ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गर्दै छन् । २०३९ साल फागनु १५ गते नेपाल लाङ्घली परिवार संघको प्रथम अधिवेशन सम्पन्न भएको सम्झनामा मगर समुदायले मगर दिवसको रुपमा मनाउन शुरु गरेका हुन् । पछिल्लो  समय विभिन्न कारणले लोपउन्मूख रुपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडा लगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगरभाषा, तथा साँस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले महत्वपूर्ण भूमिका खेल्ने मगर समुदायले विश्वास लिएको छ । मगर समुदायले फागुन १५ गते देशैभर सार्वजनिक विदा दिनुपर्ने, नेपालका प्रथम सहिद भनिने लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् । तर आदिवासी जनजातिमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको मागलाई सरकारले सधैं बेवास्ता गरेको उनीहरुको गुनासो छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update