Shittalpati
गैरसरकारी संस्था दिवसको सन्दर्भ

विश्व गैरसरकारी संस्था दिवस आज विश्वभर मनाइँदै छ । गैरसरकारी संघसंस्थालाई समाज विकासमा थप हौसला दिन संयुक्त राष्ट्रसंघ (यूएनओ)ले  हरेक वर्षको २७ फेब्रुअरीमा यो दिवस मनाउने गरेको हो । आज विश्वमा लाखौं गैरसरकारी संघसंस्था क्रियाशील छन् । समाज कल्याण परिषद्ले नेपालमा कार्यरत गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको दर्ता तथा नियमन गरिररहेको छ । विशेषतः दिवसले स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा गैर–सरकारी संस्थाले समाजमा पुर्‍याएको योगदान र अन्य गतिविधिहरूको महत्वलाई विश्वसामु प्रस्ट पार्ने प्रयास गर्दछ । विश्वको तथ्यांकलाई हेर्ने हो भने कुनै पनि देशमा जब राज्य कमजोर हुन्छ, गैरसरकारी संस्थाको (गैसस) प्रभाव बढेको देखिन्छ । लामो समयसम्म द्वन्द्वमा रहेका देशहरु द्वन्द्व समाधान पछि र प्राकृतिक विपत् पछि यस्ता संस्थाहरुको संख्या उल्लेख्य मात्रामा बढेको पाइन्छ । विश्वका धैरै देशहरुमा गैससको उपस्थिति छ र अनुसन्धानले के देखाउँदछ भने विश्वका करिब ८० प्रतिशत जनताले गैरसरकारी संस्था सकारात्मक सामाजिक परिवर्तनमा भूमिका खेलेको विश्वास गर्दछन् । 

नेपाल लामो समयसम्म संक्रमणकालीन अवस्थामा रह्यो, दश वर्षसम्म आन्तरिक द्वन्द्वमा फस्यो र ठूला–ठूला प्राकृतिक विपत्ति आइपरे । नेपालमा १० वर्षे द्वन्द्व अन्त्य पछि र २०७२ सालको भूकम्प पछि गैससको संख्या उल्लेख्य बढेको पाइन्छ । पचास प्रतिशत भन्दा बढी गैससहरु समुदाय तथा ग्रामीण विकाससँग सम्बन्धित छन् । त्यो बाहेक शिक्षा, स्वास्थ्य, कृषि, वातावरण, महिला बालबालिका, युवा, फरक क्षमता भएका, एड्स लगायतका क्षेत्रसँग सम्बन्धित छन् । अपवाद बाहेक केही गैरसरकारी संस्थाहरुमा विकृति पनि देखिएको छ । गैरसकारी संस्थाको  नाममा ठूलो रकम आउने गरेको छ । तर त्यो रकमको कुुनै पनि हिसाबकिताब छैन । आवश्यक ठाउँमा खर्च नहुँदा त्यसले परिणाम दिनेभन्दा पनि प्रक्रिया पूरा गर्ने र प्रशासनिक खर्चमै धेरै ओइरो लगाउनुले पनि यस्ता रकमबाट ठोस उन्नति नहुनु हो । उन्नति चाहिँ मुठ्ठीभर व्यक्तिले गरेका छन् । गैरसरकारी संस्थामा आउने रकममा राज्यको चासो, नियमन र अनुगमन मात्रै होइन हस्तक्षेपकै पनि जरुरी छ । शिक्षा र स्वास्थ्यका नाममा सबैभन्दा धेरै भित्रिन्छ । तर सबैभन्दा नराम्रो हालत कुनै क्षेत्रको छ भने त्यो पनि शिक्षा र स्वास्थ्य नै हो । बरु गैरसरकारी संस्थाले शिक्षा र स्वास्थ्यलाई मागी खाने भाँडो बनाएका छन् । यसो हुनुु दुखद् हो । हजारौको संख्यामा रहेका गैरसरकारी संस्थाहरु विगतमा देश विकासमा कति सहयोगी भए र भविष्यमा यस्ता संस्थाहरुलाई कसरी थप प्रभावकारी बनाउने भन्ने तर्फ समयमै सोच्न जरुरी छ । यसो भयो भने मात्र विश्व गैरसरकारी संस्था दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update