Shittalpati
लागुपदार्थ नियन्त्रणमा ध्यान देऊ

मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागुपदार्थ वा औषध हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागुपदार्थ भनिन्छ । यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ । कानुनद्वारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागु औषध हो भने सूर्तिजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागुपदार्थ हो । नेपालको सन्दर्भमा लागू पदार्थको दुरुपयोग प्राचीनकालदेखि नै हुँदै आएको छ । तर, यसबाट उत्पन्न हुने असर वा विकृतिहरू वर्तमान समयमा ज्यादै देखिएका छन् । लागुपदार्थको दुरुपयोगले प्रयोग गर्ने व्यक्तिको जीवन बर्बाद मात्र गर्दैन परिवार, समाज र देशकै अर्थतन्त्र र संस्कृतिलाई समेत नष्ट पार्दछ । समाजमा हत्याहिंसा, चोरीडकैती, वेश्यावृत्तिजस्ता विकृतिबाट मानिस आक्रान्त बन्न पुग्दछन् । नेपालमा खास गरी साथीभाइको संगत, बेरोजगारी, परिवारको भूमिकामा कमी, पश्चिमा संस्कृतिको प्रभाव, लागुपदार्थको व्यापारबाट छिट्टै धनी बन्ने व्यापारीका चिन्तन आदिले नेपालमा लागुपदार्थको दुरुपयोग बढ्दो छ । जुन चिन्ताको विषय हो ।

धूमपान, मद्यपान र अन्य लागूपदार्थको प्रयोगमा कमी ल्याउन सरकारले जति काम गर्नुपर्ने हो त्यो गरेको पाइँदैन । सरकारी निकायले यसलाई झारा टार्ने काम गरेको पाइन्छ भने युवायुवतीले यसको प्रयोगलाई फेसन बनाएका छन् । समाज जति खुल्ला हुँदै गयो त्यति नै लागूपदार्थको प्रयोग बढ्दो अवस्थामा रहेको देखिन्छ । समाज विकाससँगै बढ्दै गएको आन्तरिक कलहका कारण पनि यसका प्रयोगकर्ताहरु हरेक दिन बढ्दै गएको देखिन्छ । साथीभाइको संगतसँगै यस्ता कुलतमा फस्ने युवायुवतीको संख्या डरलाग्दो अवस्थामा पुगेको छ । यसको नियन्त्रणका लागि राज्यले जुन किसिमले जनचेतनाका साथै कारवाहीको दायरालाई फराकिलो बनाउनुपर्ने हो त्यो गरेको देखिँदैन । लागुपदार्थको प्रयोगलाई नियन्त्रण गर्ने कानुन राज्यसँग भए पनि त्यसलाई प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याउन नसक्दा दुखद् हो । यसको नियन्त्रणमा सरकारी तवरबाटै प्रभावकारी कदम चाल्न आवश्यक छ । यसतर्फ चासो देखाइएन भने भोलिका दिनमा अझ ठूलो समस्या निम्त्याउन सक्ने देखिन्छ । तसर्थ लागूपदार्थ नियन्त्रणमा सरकार र सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update