Shittalpati
आज स्वस्थानी व्रत समापन हुँदै

पाल्पा,यस वर्षको स्वस्थानी व्रत आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि शुरू भएर एक महिनासम्म चलेको व्रतको शनिबार विधिवतरूपमा समापन हुन लागेको हो ।

महिनाभरि स्नान गरी मध्याÞन श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने एवं मनले चिताएको पुग्ने कुरा पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ । पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ । स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने गरिन्छ । आज मध्याÞनकाल पछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिकालमा जाग्राम बसेर अर्को दिन बिहान फूलपाती नदीमा सेलाएपछि स्वस्थानी व्रत विधिपूर्व समापन हुन्छ ।

स्वस्थानी व्रतको अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अंग पतन भएका स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो । एक महिनासम्म मध्याÞनको समयमा भगवान् शिवसहित स्वस्थानी परमेश्वरीको विधिपूर्वक पूजा–आराधना गरिन्छ । व्रतालुहरूले पूजा–आराधनापछि स्वस्थानीको माहात्म्य वाचन वा श्रवण गर्ने गर्छन् । व्रत अवधिभरि चोखोनितो गरी मध्याÞनकालमा एक पटक मात्र भोजन गर्नुपर्ने शास्त्रीय नियम रहेको छ । विधिपूर्वक व्रत नबस्नेहरूले पनि आ–आफ्नो घरमा बिहान वा बेलुकी स्वस्थानीको कथा वाचन एवं श्रवण गर्दछन् । यसप्रकारले श्रद्धा एवं भक्तिपूर्वक गरिएको स्वस्थानीको व्रत एक महिनापछि अर्थात् माघ शुक्ल पूर्णिमाको दिन समापन गरिन्छ । यस दिन सम्पूर्ण पूजा सामग्रीसहित स्वस्थानी परमेश्वरीलाई चढाउन विशेष वस्तुहरू १०८ को संख्यामा हुने गर्छन् । अक्षता, बेलीपुष्प, सुपारी, जनै, पान, बत्ती, रोटी, एवं मौसमअनुसारका फलफूलहरू सबै एक सय आठका दरले चढाई शिवलिंगसहित ॐकारयुक्त अष्टदलमा श्री स्वस्थानीको विशेष पूजा गरिन्छ । पूजा सकिएपछि जुन कामनाले व्रत गरिएको हो सो कामना पूरा होस् भन्दै अर्घा दिई यस व्रतको समाप्ति गरिन्छ ।

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update