Shittalpati
तानसेनमा विद्युत आपूर्ति सहज बनाइदिन खानेपानी समितिको आग्रह

पाल्पा, तानसेन खानेपानी उपभोक्ता समितिले विद्युत आपूर्ति सहज बनाइदिन विद्युत प्राधिकरण वितरण केन्द्र पाल्पा शाखालाई आग्रह गरेको  छ । शुक्रबार समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठको नेतृत्वमा गएको टोलीले कार्यालय प्रमुख इन्जिनियर दिलिप मरासेनीलाई भेटेर तानसेनको विद्युत आपूर्ति सहज बनाइदिन आग्रह गरेको हो ।

नियमित विद्युत आपूर्ति नहुँदा तानसेनको खानेपानी आपूर्तिमा समस्या उत्पन्न भएको भन्दै समितिले विद्युत आपूर्ति सहज बनाइदिन विद्युत प्राधिकरणलाई भनेको छ । समितिका अध्यक्ष श्रेष्ठले केन्द्रका प्रमुख मरासेनीलाई जानकारी पत्र बुझाउँदै विद्युत आपूर्ति सहज बनाइदिन आग्रह गरे । उनले भने ‘समिति मातहत सञ्चालित खानेपानी योजनाका सिस्ने, भुल्के पम्प स्टेसन, कालीगण्डकी र तिनधारा लिफटिङ्ग प्रणालीमा आधारित रहेकाले विद्युत बन्द वा भोल्टेज कम हुँदा पानी वितरण गर्न सकिदैनन्, जसका कारण तानसेनवासी नियमित खानेपानीबाट बञ्चित हुनु परेको छ । विद्युत सहज भए मात्र पानी वितरण पनि सहज हुने भएकाले यसतर्फ प्राधिकरणको ध्यान जाओस् ।’ अध्यक्ष श्रेष्ठले प्राधिकरणले तानसेन–कालीगण्डकी खण्डको विद्युत महशुलमा सहुलियत गराउन सहयोग गरेकोमा धन्यवाद दिर्दै नियमित विद्युत आपूर्तिमा समेत सहयोग हुनेमा विश्वास व्यक्त गरे । बिहीबारदेखि विद्युत आपूर्तिमा देखिएको समस्याका कारण पानी वितरणमा समेत समस्या आएको उनले जानकारी गराए ।

वितरण पाल्पा शाखाका प्रमुख मरासेनीले खानेपानी मानिसको मौलिक अधिकारका रुपमा रहेकाले आफुहरु यस क्षेत्रमा बढी संवेदनशील रहेको बताए । उनले पाल्पाको मुख्य समस्या भोल्टेजको रहेको र बुटवलबाट ३३ केभी लाईन ४५ किलोमिटर दुरीमा वितरण हुँदै आएकोमा विविध कारणले लाईन डाइरेक दिन नसकिएकोमा केही समस्या भएको बताए । प्रमुख मरासेनीले भने ‘हामीहरु यी समस्या समाधानमा लागि परेका छौं, कहिले काही बुटवलबाटै आपूर्तिमा समस्या हुँदा यहाँ केही समस्या भएको हुन सक्छ तर त्यसलाई समितिले प्राधिकरणको कमजोरीका रुपमा नलिइ प्राविधिक समस्याका रुपमा हेरिदिन आग्रह गर्दछु ।’ उनले तानसेनको विद्युत आपुर्ति सहज बनाउने विषयमा आफु र आफ्नो टिम सधै प्रतिवद्ध भएर लागेको बताए ।   

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update