Shittalpati
फागुन १९ देखि तानसेन महोत्सव हुँदै

पाल्पा, तानसेनको टुँडिखेल मैदानमा यही फागुन १९ गतेदेखि तानसेन महोत्सव २०८० हुने भएको छ । तानसेन नगरपालिकाको  आयोजनामा फागुन १९ गतेदेखि २९ गतेसम्म तानसेन महोत्सव हुने भएको हो ।

कृषि, रोजगार, पर्यटन, उद्योग र व्यापारको प्रवद्र्धन गर्ने उद्देश्यले व्यापार महोत्सव गर्न लागिएको नगरपालिकाले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । विगतमा विभिन्न व्यवसायिक संघसंस्थाले महोत्सव गर्दै आएका थिए । तर यस पटक स्थानीय सरकार आफैले महोत्सव गर्न लागेको जनाएको छ । तानसेनलाई कृषि, रोजगार, पर्यटन, उद्योग र व्यापारको माध्यबाट चिनाउन महोत्सव गर्न लागिएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिए । उनले महोत्सवमा पाल्पा र नगरभित्र उत्पादित कृषि तथा घरेलु उद्योगका मात्रै ५० स्टल रहने बताए । महोत्सवमा ३ सय स्टल राखिनेछ । महोत्सवबाट नगरको आन्तरिक राजश्वमा वृद्धि हुने र त्यसले तानसेनको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने  नगर प्रमुख श्रेष्ठको भनाई छ ।

महोत्सवको तयारी तिव्र पारिएको नगर प्रवक्ता यादवसिंह कार्कीले बताए । महोत्सवमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता, स्थानीय स्तरका कलाकारहरुको नृत्य, झाँकी जस्ता प्रतियोगिता हुने उनले बताए । प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले महोत्सवबाट पाल्पाको पर्यटन, कृषि, व्यापार तथा घरेलु उद्योगमा टेवा पुग्ने विश्वास गरे । उनले भने ‘नगरपालिकाले महोत्सव गर्न मिल्दैन भन्ने कही पनि लेखेको छैन, महोत्सव र व्यापार प्रवद्र्धनका कार्यक्रम गर्न पाउनु नगरपालिकाको अधिकार हो ।’ संविधान र स्थानीय सरकार सञ्चालन ऐन अनुसार महोत्सव गर्नु जायज भएको ज्ञवालीको भनाई छ । महोत्सवबाट ६१ लाख बढी बचत गर्ने नगरपालिकाले लक्ष्य लिएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update