Shittalpati
महासमिति बैठकको सान्दर्भिकता

सोमबारदेखि ललितपुरको गोदावरीमा नेपाली कांँग्रेसको महासमिति बैठक सुरू भएको छ । बैंठकमा गत फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत भइ अनुमोदित भएका नीति तथा कार्यक्रम, सांगठनिक प्रतिवेदन, समसामयिक राजनीतिक प्रस्ताव, नेपालको वर्तमान आर्थिक अवस्था, चुनौती र सम्भावना र लेखापरीक्षण लगायतका प्रतिवेदन पेश हुनेछन् । फागुन १० गतेसम्म चल्ने बैंठकमा पेश भएका प्रतिवेदनमाथि समुहगत छलफल गरी निष्कर्ष निकालिने छ । बैठकमा कांग्रेसले समयसापेक्ष अवलम्बन गर्नुपर्ने नीति र कार्यदिशाका बारेमा घनीभूत छलफल गरी स्पष्ट मार्गचित्र तय गर्ने भएकाले पनि यो बैंठकलाई सर्वत्र चासोको रुपमा रेहिएको छ । बैठकमा पार्टीले अवलम्बन गर्नुपर्ने नीतिमाथि केही समयअघिदेखि नै गम्भीर विमर्श हुँदै आएको छरु। त्यसक्रममा महासमितिमा प्रस्तुत गरिने गरी मूलरूपमा तीन वटा प्रस्ताव तयार पारिएको छ । कांग्रेस केन्द्रीय समितिमा गहन बहस भएको उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाको साङ्गठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावले व्यापक तरङ्ग ल्याएको छ । महासमिति बैठकले राजनीतिक रूपमा देखिएका मतभेद, अविश्वास, सैद्धान्तिक अस्पष्टता लगायतलाई आन्तरिक विमर्शमार्फत समाधान गरेर नवीन कार्यदिशा प्रदान गर्ने अपेक्षा आमकाँग्रेसजनले गरेका छन् । आफ्नो मार्गबाट भड्किएको कांग्रेसलाई सही बाटोमा ल्याउन यो बैठकले सकारात्मक भूमिका खेल्नैपर्छ । 

कांग्रेसभित्र पुनः सुरु भएको धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दुराष्ट्रको बहसले कांग्रेसीजनमा मात्र होइन, देशभरका सन्त महन्त एवं आमनेपाली जनतालाई उत्साहित बनाएको छ । धर्मनिरपेक्षता खारेज गरी हिन्दु राष्ट्र कायम गर्ने मार्गमा अब कांगे्रस अग्रसर हुन्छ कि भन्ने दिशामा जनतामा झिनो आशा पलाएको छ । पछिल्लो समयमा राजनीतिक दलहरुप्रति जनतामा वितृष्ण पैदा भएको छ । त्यसलाई चिर्नको लागि पनि यो बैंठकले महत्वपूर्ण भूमिका खेल्न आवश्यक छ । आगामी महाधिवेशनबाट संगठनलाई चुस्तदुरुस्त बनाउन विधान संशोधन गर्ने समिति बनाई अब पार्टी विधिविधान अनुसार चल्छ र सबैलाई न्याय हुनेछ भन्ने भरोसा जगाउन अपरिहार्य भएको छ । संगठनमा अब के गर्ने भन्ने खाकाको अभाव छ, जुन यो महासमितिले अवश्य हटाउनेछ । क्रियाशील सदस्यता वितरणदेखि विभाग तथा भ्रातृ संस्था, शुभेच्छुक संघसंस्थालाई चलायमान र विधिसम्मत अघि बढाउने प्रतिबद्धता महासमितिले गर्नुपर्छ । समसामयिक राजनीतिक, आर्थिक, कूटनीतिक र सामाजिक मुद्दामा कांग्रेसले स्पष्ट नीतिसहित आगामी बाटो तय गरी देश र समाजलाई अग्रगामी बाटोमा डो¥याउने आशा जगाउन सक्नुपर्छ । यसो भयो भने मात्र महासमिति बैंठकले सार्थकता प्राप्त गर्न सक्छ ।  

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update