Shittalpati
सडक दुर्घटना रोकौं

पछिल्लो समय नेपालमा सवारी दुर्घटनाका घटना ह्वात्तै बढेका छन् । चालकको गम्भीर लापरवाहीले  सवारी दुर्घटना बढ्ने गरेका छन् । पछिल्लो केही दिन यता लुम्बिनी प्रदेशमा दुई दिनको अन्तरमा भयानक दुर्घटना हुँदा २० जनाले ज्यान गुमाएका छन् । पाल्पामा १० जना र कपिलवस्तुमा १० जनाले आकालकै ज्यान गुमाए । यी छुट्टाछुट्टै दुर्घटनाबाट २० जनाले अकालमै ज्यान मात्र गुमाएनन् घाइते भएका ४८ जना मध्ये कयौँ व्यक्तिहरु अङ्गभङ्ग समेत भए । क्षमताभन्दा बढी भार तथा तीव्र गतिले यात्रुहरूले अकालमै ज्यान गुमाउनु पर्यो । नियमनकारी निकाय ट्राफिक प्रहरीले सडक सुरक्षामा चासो नदिँदा मुख्य राजमार्गमै ठूला दुर्घटना बढ्नु दुखद् हो ।

दुर्घटनाका बेलामा समीक्षा हुने, दुर्घटनाका कारण पत्ता लगाउन अध्ययन हुने अनि बिर्सिइने प्रचलन छ । कम्तीमा ती अध्ययनका निष्कर्षहरू प्रभावकारी ढंगले पछ्याउने हो भने यस्ता खाले दुःखद् खबरसँगको साक्षात्कार सायद कम हुन्थ्यो । विडम्बना के छ भने अध्ययन गरिन्छन्, कारणहरू पनि पत्ता लाग्छन् तर कार्यान्वयन हुँदैनन् । जसले गर्दा उही र उस्तै प्रकृतिका त्रुटि दोहोरिन्छन् र निर्दोषहरू अनाहकमा मारिन्छन् । पछिल्लो दुर्घटनाको प्रारम्भिक खबर हेर्दा पनि चालकको त्रुटि हुन सक्ने अनुमान गर्न सकिन्छ । दुर्घटनाले व्यक्ति, परिवार, समाज तथा देशलाई ठूलो क्षति भइरहेको छ ।

सडक दुर्घटना बढ्न पुग्नुमा प्रायः चालकहरुकै लापरवाही देखिएको छ, भने केहीमा नागरिकहरुको गल्तीका कारणले पनि त्यस्ता घटनाहरु घटित हुन पुगिरहेका छन् । प्रायः साधनहरु तीव्र गतिमा रहने गरेको हुँदा अनियन्त्रित हुने गर्छन् र दुर्घटनाको शिकार हुन्छन् । कतिपय सवारीसाधनका चालकहरुले मादक पदार्थ सेवन गरेर चलाउने, गाडी चलाउँदा चलाउँदै मोबाइलमा व्यस्त रहने गरेको हुँदा पनि दुर्घटनाहरु भैरहेका छन् भने कतै चालक निदाएर पनि घटनाहरु घटिरहेको देखिन्छ । अब यस्ता घटनाहरु रोक्नका लागि समयमै सबैले ध्यान दिन जरुरी छ । दुर्घटनामा कमी ल्याउनका लागि भरपर्दो र विश्वसनीय आधारसहित चालकहरुलाई सबैले बढी जिम्मेवार बनाउनतर्फ सोच्न आवश्यक छ ।

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update