Shittalpati
‘विशाल लुम्बिनी’ लोकदोहोरी अवार्डबाट गायक रामचन्द्र सम्मानित

पाल्पा, गुल्मेली गायक रामचन्द्र चन्द ‘विशाल लुम्बिनी’ लोकदोहोरी अवार्ड २०८० बाट सम्मानित भएका छन् । कल्पना गैरे स्मृति फाउन्डेसनको सहयोगार्थ आयोजना गरिएको ‘तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्डबाट चन्द सम्मानित भएका हुन् ।  

नेपाल चलचित्र विकास बोर्डको हल चाबहिलमा आयोजित एक भव्य समारोहमा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई सम्मान गरे । गायक चन्दलाई नेपाली लोक संगीत क्षेत्रको संरक्षण र प्रवद्र्धनमा पुर्‍याएको  योगदानको कदर गर्दै सम्मान गरिएको विशाल मुभिज प्रालिका अध्यक्ष हुम गैरेले बताए । सम्मान ग्रहणपछि शितलपार्टीसँगको कुराकानीमा चन्दले यो सम्मानले आफुलाई गीत संगीतको क्षेत्रमा लाग्न थप उर्जा मिलेको बताए ।

गुल्मीको अग्लुङमा जन्मिएका गायक चन्द अत्यन्त कर्णप्रिय स्वरका रुपमा लोकदोहोरी क्षेत्रमा सबैले चिन्ने गर्दछन् । लामो समय लोक संगीतको क्षेत्रमा आफुलाई समर्पित गरेका उनले नेपाली लोक संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । स्कूल पढ्दादेखि नै गीत गाउन रुची राख्ने चन्द पछिल्लो समय राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमै ख्याती कमाउन सफल भएका हुुन् । २०६३ सालदेखि लोक संगीतको क्षेत्रमा प्रवेश गरेका उनी दर्जानौं गीत निकालेर दर्शकहरुको मन मनमा बस्न सफल भएका छन् । लामो समय सञ्चारकर्म गरी नेपाली लोक संस्कृतिको फाँटमा प्रवेश गरेका चन्दले विशेष गरी सामाजिक यथार्थ र माया, पिरतीका गीतलाई प्राथमिता दिने गर्दछन् ।

चन्दले ‘माया सारै छ’ बोलको पहिलो लोकदोहोरी गीत बजारमा ल्याएका थिए । यो गीतको अपार सफलतापछि उनले चरी रुखमा, भीरमा रुँदै छु, अबदेखि एक्लै हुम्ला म, गुल्मीको शान,भुल्दै भुल्दै जानु,आमा अँध्यारो, तीन फुर्के डोरी, फूल फुल्यो केसरी, मेची महाकालीलगायतका दर्जनौँ गीतमा स्वर दिएका छन् । उनले कतार, युएइई, दुवई, ओमन, बहराइन, कोरिया जस्ता देशको सांगीतिक भ्रमण समेत गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका चन्द राष्ट्रिय, अन्तर्राष्ट्रिय अवार्डबाट समेत सम्मानित भएका छन् । लोक गायन पुरस्कार–२०७६, हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७८, दोस्रो विशाल लुम्बिनी लोकदोहोरी अवार्ड २०७९,नुर गंगा प्रतिभा पुरस्कार २०७६, पहिलो दशैं तिहार फेस्टिभल म्यूजिक अवार्ड २०८० जस्ता अवार्डबाट उनी सम्मानित भएको पाइन्छ ।

यस वर्ष ‘विशाल लुम्बिनी’ लोकदोहोरी अवार्डबाट चन्दसहित लोकगायक कृष्ण गैरे, राजु परियार, सुरेन्द्र गुरुङ, राम चन्द,गायिका सिर्जना विरही थापा, जमुना राना, नायक शितल केसी, संगीत संयोजक राकेश सोनी, पत्रकार कविराज ढकाल, दिपेन्द्र थापामगर समेत सम्मानित भएका छन् । लोक संगीत क्षेत्रको संरक्षण र प्रवद्र्धनमा योगदान पुर्‍याएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update