Shittalpati
‘भ्यालेन्टाइन डे’ को सार्थकता

हरेक वर्षको १४ फेब्रुअरीका दिन ‘प्रेम दिवस’ अर्थात् ‘भ्यालेन्टाइन डे’ मनाउने गरिन्छ । यस वर्षको दिवस बुधबार मनाइएको छ । प्रेम र मानवताका पुजारी भ्यालेनटाइनले प्रेमको निम्ति मुत्युवरण गरेको दिनको सम्झनामा इटालीको राजधानी रोमबाट भ्यालेन्टाइन डे मनाउन सुरूवात भएको हो । पश्चिमी मुलुकबाट सुरूवात भएको यस दिवस नेपालमा पनि संस्कृतिको रूपमा विकास हुँदै गइरहेको छ । दिवसलाई प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिनका रुपमा लिने गरिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्वपूर्ण छ । प्रायः पश्चिमा देशहरुमा मनाइने यो दिवस पछिल्ला केही वर्षमा नेपालमा पनि निकै महत्वका साथ मनाउँदै आइएको छ । युवाहरुले त यो दिनलाई उत्सवकै रुपमा मनाउने गरेका छन् । भ्यालेन्टाइन डे का बारेमा सबैका आ–आफ्नै धारणा छन् । कसैले पश्चिमको संस्कृति भएकाले यसलाई मनाउन आवश्यक नभएको भन्छन् त कोही राम्रो पक्षलाई अनुसरण गरेर मनाउनुपर्ने बताउँछन् ।         

विशेषगरी युवाहरूबीच लोकप्रिय यस दिवसमा विकृति पनि बढ्दै गइरहेको छ । प्रेमलाई भन्दा क्षणिक भावनात्मक आवेग र शारीरिक आकर्षणलाई केन्द्रमा राखेर गरिने गतिविधिलाई नै हामी कहाँ भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस भनेर बुझ्ने र मनाउने गरिँदै आएको छ । जुन गलत मात्र होइन, खतरनाक पनि छ । अचेल सबैमा प्रेम सहज र सस्तो भएको छ । प्रेमलाई अहिलेका युवाहरूले टाइमपास गर्ने माध्यम बनाएका छन् । मन लागेका बेला प्रेमको नाटक रच्यो नलाग्दा त्यसैलाई बलिको बोका बनाउने गर्न थालिएको छ । तर यसो हुनु गलत हो । साँचो प्रेममा त्याग हुन्छ, विश्वास हुन्छ । माया प्रेमले जीवनलाई नै रंगीन बनाउँछ, जीवनका गोरेटोहरूको पाइला चाल्न सहज बनाउँछ । यसर्थ प्रणय दिवसलाई विकृति र विसंगतिको रूपमा होइन एकअर्काको मनोभावना बुझेरमात्रै प्रणय दिवस मनाउन जरुरी छ । माया, सद्भावका रुपमा सबैमा ग्रहण गर्न सकियो भने मात्र दिवसको सार्थकता रहन्छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update