Shittalpati
नेपाली काँग्रेस र महासमिति बैठक

नीति, नियम र विधानलाई आधार मानेर संगठनका मूलभूत मान्यताप्रति काँग्रेस असीको दशकभन्दा पहिला यसरी चिन्तित भएको कमै देखिन्थो, यद्यपी विगतको इतिहास केलाउँदा काँग्रेस अहिलेको भन्दा सशक्त हिजो थियो । मुलुक कै पुरानो पार्टी नेपाली काँग्रेसले अहिले समुदायको महत्वलाई बुझ्ने र त्यसका अवयवहरुका प्रतिविम्व केलाउने प्रयास गरिरहेको छ । समुदायको विकल्प समुदाय नै हो, भन्दै देशव्यापीरुपमा अभियान शुरु गरेर संगठन मजवुत बनाउने शैलीको विकासलाई प्राथमिकता दिने काम थालनी गरेको छ । २००७ सालको काँग्रेस २०८० सालसम्म आइपुग्दा समुदायको महत्वलाई शिरोधार्य गर्ने काममा पर्नुताजगी हुनु आफैमा अत्यान्तै प्रभावकारी र महत्वका साथ हेरिएको छ । नेपाली काँग्रेसको तेस्रो पुस्तासम्म आइपुग्दा काँग्रेस अब आधुनिक र जनमुखी बन्नुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न खोज्नु आफैमा अत्यान्तै महत्वपूर्ण कार्य हो । लोकतान्त्रिक अभ्याससँगै आफ्नो पार्टीको परिस्कृत विधानलाई आधार बनाएर १४ औं महाधिवेशन पछिका हरेक क्रियाकलापहरु नेपाली काँग्रेसलाई आधुनिक काँग्रेस निर्माणको दीशातर्फ उन्मूख बनाउने प्रयासहरुले वास्तवमै नेपाली काँग्रेस असल र युवा उत्तराधिकारीको खोजीको अभ्यासमा लागिरहेको आभास हुन थालेको छ । 

विधान बन्छन् तर समयमा कार्यान्वयन हुदैनन् भन्ने मान्यताले गिजोली रहेको काँग्रेसभित्र अहिले आएर नयाँ जोस र जाँगरको ज्वारभाटा मौलाइरहेको आभास हुन्छ । तर यो निरन्तरतालाई क्रम भंग नहुने गरी काँग्रेस अगाडि बढ्नुको विकल्प पनि नभएरै होला, काँग्रेस वास्तवमै तलदेखि माथि हेर्ने र माथिदेखि तल चियाउनेहरुका लागि एकाकार बन्ने तरखरमा देखिन्छ । अर्थात क्रियाशीलताको हिसावले बढी समुदाय केन्द्रित भएको देखिन्छ । वीपीले परिकल्पना गरेको समाजलाई आधुनिकताको डोरीले, प्रविधिमैत्री काँग्रेस निर्माणका लागि तेस्रो पुस्ताका युवा नेताहरु महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायतका दर्जनौ युवाहरुको पहल र सक्रियतालाई सिंगो दोस्रो पुस्ताको उत्तरार्धका नेताले समेत स्वीकार नगरी नहुने अवस्था आएका कारण पनि यसो भएको हो भन्नेहरुका तर्कमा केही दम पनि छ । पार्टी नीति र विधिले चल्नुपर्छ भन्ने मान्यताले संस्थागत रुप लिन समय लाग्ला तर हुनुपर्छ भन्ने कुराको शुरुवात हुनु पनि आफैमा महत्वपूर्ण अवस्था थियो र त्यो कर्म अहिले शुरु भएको आभास हुन्छ । नीति सम्मेलनको स्वरुप नपाई सकेको यसै साता हुने महासमितिको ऐतिहासिक बैठकले गर्ने निर्णका आधारभूत मूल्य र मान्यतालाई चारै तर्फबाट प्रहार गर्ने कोशिस धेरथोर भएका छन् र हुन्छन् । त्यसका वावजुद पनि अब काँग्रेस, नीति र विधीलाई कार्यान्वयन गर्ने दीशा तर्फ अग्रसर भयो, पछाडी हट्ने कुरै हुँदैन । अभियान संस्थागत गर्नका लागि महामन्त्री गगनकुमार थापाको ऐतिहासिक हुलाकी मार्गको दौडाहा र अर्को तर्फ देशैभरका सबै वडामा योजनावद्ध तौर तरिकाबाट अगाडि बढ्नु नै आशा लाग्दो भविश्य हो । अब इतिहास भजाएर खाने भन्दा पनि समुदायको मन जितेर अगाडि बढ्नुपर्छ भन्ने कुरालाई आसन्न महासमितिका प्रत्येक सदस्यले गम्भीरताका साथ बुझेर समयानुसार अगाडि बढ्नुको विकल्प छैन । 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update