Shittalpati
प्रेस चौतारी पाल्पाको दोस्रो साधारणसभा रामपुरमा

पाल्पा, प्रेस चौतारी नेपाल पाल्पा शाखाको दोश्रो साधारण सभा रामपुरमा भएको छ । चौतारीले एक समारोहकोबिच साधारण सभा गरेको हो । सभाको प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै लामाले पे्रस चौतारी नेपाल कलमजिवी र श्रमजीवी पत्रकारहरुको हक हितमा केन्द्रित रहेर काम गर्दै आएको बताए । उनले पत्रकार महासंघमा खिचडी जस्तै जोसुकै व्यक्तिहरु पनि सदस्य भई पत्रकारहरुको गरिमा घटाएकाले चौतारीले नै शुद्धीकरणको एजेण्डा ल्याएको दावी गरे । उनले भने ‘हामीले शुद्धीकरणको प्रस्ताव ल्याए पनि गठवन्धनबाट निर्वाचित पत्रकार महासंघका नेतृत्वकर्ताले आफ्ना पक्षलाई काखा, विपक्षीलाई पाखा लगाउने गरी शुद्धीकरणको अभियान भईरहेकाले हाम्रो आपत्ति छ ।’

नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले लोकतन्त्र, गणतन्त्र, नयाँ संविधान ल्याउन र उपलब्धीहरु संस्थागत गर्न प्रेस चौतारीको प्रमुख भूमिका रहेको बताए । प्रेस चौतारीका लुम्बिनी प्रदेश महासचिव निरु गौतमले चौतारीमा आवद्ध पत्रकारहरुको पेशागत दक्षता, कार्यक्षमता वृद्धि गर्न प्रदेशस्तरको तालिमको आयोजना गरिएको बताईन् । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले पत्रकारीताको विकासमा चौतारीको भूमिका महत्वपूर्ण रहेको बताए । साधारण सभामा प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्य, लुम्बिनी प्रदेश सञ्चार परिषदका अध्यक्ष यम गाहा मिलन, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्ज कमलराज तिमिल्सिना, निस्दी गाउँपालिका उपाध्यक्ष तिरनकुमारी श्रेष्ठ, नेपाली कांग्रेस रामपुर नगरसमिति अध्यक्ष नेत्र भट्टराई, चौतारीका निवर्तमान अध्यक्ष राजेन्द्र लिगल लगायतले चौतारीले सञ्चारक्षेत्र सहित समग्र विकासमा खेलेको भुमिका बारे चर्चा गरेका थिए ।

संगठनका जिल्ला अध्यक्ष कृष्ण कार्कीले संगठनको काम निरन्तर गरेको बताउदै आगामी दिनमा पत्रकारितालाई व्यवसायिक बनाउन लागि पर्ने बताए । आगामी दिनमा पत्रकार कल्याणकारी कोष बनाउने, चौतारी बुलेटिन प्रकाशन गर्ने, घुम्ती बैठकलाई निरन्तरता दिने, वैदेशिक अध्ययन अवलोकन भ्रमण गर्ने योजना रहेको उनले बताए । सभामा प्रेस चौतारी लोगो अङ्गित पिन सदस्यहरूलाई वितरण गरिएको थियो । चौतारीका जिल्ला अध्यक्ष कार्कीको अध्यक्षता, उपाध्यक्ष बन्दना पोखरेलको स्वागत, सह–सचिव सन्तोष ज्ञवाली र सचिवालय सदस्य विजय बौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

सभामा प्रेस चौतारीका केन्द्रीय सदस्य मिलन विश्वकर्माले रामपुर घोषणापत्र जारी गर्दै पाल्पाको रामपुर नगरपालिका खासगरी राम्चे सामुदायिक वन क्षेत्रमा चिडियाखाना निर्माण गरेर यहाँको थप स्तरोन्नति गर्न माग गर्ने, राम्दीदेखि नारायणघाटसम्म कालीगण्डकी नदीमा नियमित ¥याफ्टिङ सञ्चालन गरेर पर्यटकलाई थप आकर्षण गर्न माग गर्ने, स्थानीय सरकार र पत्रकारबीच समन्वय र सहकार्य गरेर नगरको विकासमा लाग्न माग गर्ने, श्रमजीवी पत्रकारहरूको व्यवसायिकता र पेशागत सुरक्षाको ग्यारेन्टी गर्न तीन तहका सरकारसँग माग गर्ने, नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरणका नाममा‘सार्वजनिक’ गरेको सदस्यता सूचीप्रति गम्भिर ध्यानाकर्षण भएको,महासंघले अभ्यास गर्दै आएको मूल्य—मान्यता, स्थापित गरेको प्रणाली र लागू गर्दै आएको विधान, नियमावली र केन्द्रीय महासंघले बनाएको १५ बुँदे शुद्धीकरण मापदण्डका आधारमा पाल्पा जिल्ला र प्रदेश महासंघले सिफारिस गरेको सदस्यता नवीकरण गर्न माग गर्ने तथा लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश भरका सञ्चार माध्यमलाई व्यवस्थित गर्न निर्माण गरेको सञ्चार परिषदलाई व्यवस्थापन गर्ने र बजेट बिनियोजन गर्न माग गरिएको छ ।

शाखाको बन्दसत्रमा प्रस्तुत सह–सचिव सन्तोष ज्ञवालीको सांगठिनक प्रतिवेदन र कोषाध्यक्ष नेत्र गैरोरा प्रस्तुत आर्थिक प्रतिवेदन पास गरिएको थियो । चौतारीका केन्द्रीय सचिव प्रदिप आचार्यले चौतारीको केन्द्र, प्रदेश र जिल्ला जिल्लाको अस्थाको जानकारी गराएका थिए ।  साधारण सभाको बन्दसत्र लुम्विनी प्रदेश सदस्य राम प्रसाद न्यौपानेको अध्यक्षता, केन्द्रिय सदस्य कमलराज तिमिल्सेनाको सञ्चालन भएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update