Shittalpati
पाल्पाको रिमिघा लेकमा काँग्रेस महासमिति बैंठक बस्दै 

पाल्पा, जिल्लाको रम्भा गाउँपालिका २ र ३ स्थित रिमिघा लेकमा नेपाली काँग्रेस पाल्पाको महासमिति बैंठक बस्ने भएको छ । काँग्रेसले संविधान निर्माता, पूर्वप्रधानमन्त्री शुसिल कोइरालाको ८ औं स्मृति दिवसको अवसर पारेर शुक्रबार (भोलि) रिमिघामा अवधारण पत्र तयारी महासमिति बैंठक राखेको हो ।

बैंठकमा आसन्न केन्द्रीय महासमितिको बैंठकमा पाल्पाबाट साझा धारणा बनाएर जाने गरी बैंठक गर्न लागिएको काँग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठले जानकारी दिए । उनका अनुसार पर्यटकीय स्थलका रुपमा परिचित रिमिघाको आन्तरिक पर्यटन प्रवद्र्धन हुने र महासमितिको केन्द्रीय बैंठकमा जिल्लाबाट साझा धारणा बनाएर जान बैंठक बोलाइएको हो ।  बैंठकमा फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरमा हुन लागेको महासमिति बैंठकका लागि साझा अवधारण बनाउने र जिल्लाको पार्टी संगठनलाई थप बलियो र मजबुद बनाएर लैजान बैंठकमा घनिभूत छलफल गरिने सभापति श्रेष्ठले बताए ।

बैंठकमा महासमिति सदस्य राजेन्द्र गोपाल सिंहले अवधारण पत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको पार्टी प्रवक्ता शोभाखर न्यौपानेले जानकारी दिए । उनका अनुसार समुदायमा काँग्रेस अभियान अन्तर्गत समुदायबाट आएका सुझाव, सल्लाहलाई अवधारण पत्रमा समावेश गरिएको  छ । उक्त अवधारण पत्र बैंठकमा प्रस्तुत गरी आवश्यकता अनुसार संशोधन गरी केन्द्रीय महासमिति बैंठकमा लैजाने प्रवक्ता न्यौपानेले बताए । बैंठक  शुक्रबार बिहान ९ बजेदेखि ३ बजेसम्म चल्ने छ । बैंठकको तयारी अन्तिम चरणमा पुगेको पार्टी सचिवालयले जनाएको छ । काँग्रेसले स्थानीय व्यवस्थापनको लागि वडा कार्यसमिति र यातायात व्यवस्थापनको जिम्मेवारी काँग्रेस क्षेत्र नं १ का क्षेत्रिय सभापति झमनबहादुर राज मगरलाई दिएको छ । बैंठकमा क्षेत्र नं. १ र २ का २५ जना महासमिति सदस्यहरुको उपस्थिति रहने छ ।  

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update