Shittalpati
सत्ता स्वार्थका कारण लोकतन्त्र संस्थागत हुन सकेन : एमाले नेता पोखरेल

पाल्पा, नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता स्वार्थका कारण लोकतन्त्र संस्थागत हुन नसकेको बताएका छन् । बुधबार तानसेनमा आयोजित पार्टीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले ठूलो संघर्ष र आन्दोलनबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको  भएको  पनि राजनीतिक दलहरुको सत्ता स्वास्र्थका कारण अझै पनि संस्थागत हुन नसकेको धारणा व्यक्त गरे । जसरी पनि सत्तामा टिकिरहने सत्तागठबन्धन आवद्ध दलहरुको सोंचले मुलुक अप्ठ्यारोमा परेको उनले बताए । निर्वाचन अगाडि नै गठबन्धन गरेर मुलुकलाई बन्धक बनाउने काम भइरहेको पोखरेलले आरोप लगाए । ‘विकास निर्माणका काम अलपत्र अवस्थामा छन् । ऋण दैनानुदिन बढिरहेको छ । जनता गरिबीले छट्पटिएका छन् । युवा विदेशतिर जान बाध्य भइरहेका छन् ।’ उनले भने ‘सरकार सत्ताको खेलमा मात्र व्यस्त छ ।’ एमालेको सरकारले मात्र मुलुकको विकास गर्ने उनले दाबी गरे । विगतका आन्दोलनबाट पाठ सिकेर सबै राजनीतिक दलहरू अगाडि बढ्नुको विकल्प नरहेको समेत उनले बताए । महासचिव पोखरेलले दुर्गाप्रसाई अराजकताको प्रतिनिधि पात्र भएको बताएका छन् । उनले प्रसाई जस्ता नेता बेलाबखत पार्टीमा जन्मने र आफ्नो स्वार्थ पूरा नभएपछि धोका दिएर जाने प्रवृत्ति मौलाएको पनि बताए । पोखरेलले थपे ‘यस्ता खालका नेतालाई जनताले विस्तारै पाखा लगाउँदै जान्छन् ।’ यस्ता व्यक्तिप्रति पार्टी र जनता होसियार हुनुपर्ने उनले बताए ।

मंगलबारदेखि सुरु भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रम तीन दिन सञ्चालन हुनेछ । बुधबार एमाले केन्द्रीय सचिव पद्मा अर्याल, पोलिटब्यूरो सदस्य बैजनाथ चौधरी, केन्द्रीय सदस्य सिर्जना काफ्ले, केन्द्रीय स्कुल विभाग सचिव घनश्याम कोइराला, सदस्य बद्री खनाल लगायतले प्रशिक्षण दिएको एमाले जिल्ला सचिव रामजी पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update