Shittalpati
नेकपा एमाले पाल्पाको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरू

पाल्पा, नेकपा एमाले पाल्पाको आयोजनामा मंगलबारदेखि तासेनमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले समयअनुसार अपडेट नहुने नेताले राजनीति गर्न नसक्ने बताए । 

 पुरानो सोंचका आधारमा नेता बन्न सक्ने अवस्था छैन, समयअनुसार परिवर्तन हुनेगरी आफ्नो क्षमताको विकास गर्नुपर्ने उपमहासचिव ज्ञवालीले बताए । मुलुक परिवर्तन गर्ने एक मात्र पार्टी एमाले भएकोले पार्टीसँगै नेता पनि आधुनिक जमाना अनुसारको हुनुपर्ने, सामाजिक सञ्जाल, अनलाइनको विषयमा जानकार भई  अध्ययनशील हुनुपर्ने उपमहासचिव ज्ञवालीले जोड दिए । पछिल्लो समय आधुनिक प्रविधिले फड्को मार्दै गएको छ, यीनै प्रविधिसँग खेल्नसक्ने युवा राजनीतिमा आउन थालेका छन्, अझै पनि अधिकांश नेता पुरानै शैलीमा रहेकोले समय सापेक्ष बन्न नसके अब जनताले विश्वास नगर्ने उपमहासचिव ज्ञवालीले बताए । फरक पार्टी, भिन्न भिन्न धारबाट एमाले पार्टीमा आएकाहरू नेता तथा कार्यकर्तामा एक रुपता ल्याउन समेत प्रशिक्षण 
कार्यक्रम प्रभावकारी हुने उपमहासचिव ज्ञवालीले जनाए । 

  तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा जिल्लाका करिब सय बढी नेताको सहभागिता रहेको एमाले पाल्पाका सचिव रामजी पोखरेलले बताए । कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव पद्मा अर्याल, केन्द्रीय पार्टी स्कुल विभाग सदस्य वाइपी आचार्यले सहजीकरण गर्ने एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले बताए ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update