Shittalpati
क्यान्सरबाट जोगिन सचेत रहौँ

आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस हो । दिवसको अवसरमा क्यान्सर सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम गरिदैं छ । क्यान्सर लागेमा निको हुँदैन भन्ने धारणा आम मानव समुदायमा रहेकोमा रोग लागेको छोटो समयमा उपचार थालीयो भने रोकथाम गर्न सकिन्छ भन्ने सचेत पार्न विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष दिवस मनाउँदै आइएको  छ ।  यस वर्ष दिवसको नारा ‘स्याहारमा भएको फरकलाई बन्द गरौँ’ भन्ने रहेको छ । हरेक वर्ष दिवस मनाउने गरिए पनि क्यान्सरका विरामी बढ्दै जानुु दुखको कुरा हो । नेपालमा सुर्तीजन्य वस्तुको सेवनका कारण क्यान्सरका विरामी बढ्दै गएका छन् । जसले गर्दा क्यान्सरको जोखिम पनि उत्तिकै बढ्दै गएको हो । यो रोग नेपाल लगायत विश्वभर एउटा ठूलो स्वास्थ्य चुनौतीका रूपमा रहेको छ ।

नसर्ने प्रकृतिका रोगमध्ये क्यान्सर एउटा डरलाग्दो रोग हो । क्यान्सर ढिलो गरी पत्ता लागे उपचार नै हुन कठिन हुने गर्दछ । सुरुवाती अवस्थामा नै पत्ता लगाई उपचार गर्न सके पूर्ण रूपमा निको हुन सक्ने चिकित्सक बताउँछन् । क्यान्सरमा पनि फोक्सोको क्यान्सर, प्रोस्टेट क्यान्सर, आन्द्राको क्यान्सर, पेटको क्यान्सर, कलेजोेको क्यान्सर पुरुषमा धेरै देखिएको छ भने महिलामा स्तन क्यान्सर, आन्द्राको क्यान्सर, फोक्सो, पाठेघरको मुखको क्यान्सर र थाइराइडको क्यान्सर प्रमुख रूपमा देखिएको छ । क्यान्सरको उपचार र स्याहार पाउनका लागि सबैको पहुँच पुगेको छैन । यो रोग मानिसका लागि एउटा दुर्भाग्य साबित भएको छ । खर्च, पीडा र यससँगको चिन्ताले सबैलाई ठूलो असर पारिरहेको छ । समयमै यसबारे पहिचान हुन सकेमा धेरै हदसम्म क्यान्सरको रोकथाम गरी मृत्युवरणमा न्यूनीकरण गर्न सकिन्छ । अर्को तर्फ क्यान्सरको प्रमुख कारक तत्वको रूपमा रहेको सुर्तीजन्य पदार्थको रोकथाम तथा नियन्त्रणका लागि प्रशस्त नीति नियमहरू बनेका छन् तर, सबै कागजमा मात्र सीमित छन् । बर्सेनि ३७ हजार ५ सयभन्दा धेरैको ज्यान लिने सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनमा राज्यको ध्यान नजानु सामान्य अवस्था होइन । सबै नागरिकमा समान स्वास्थ्य सेवामा पहुँच परको कुरा भएको नीति नियमलाई समयानुकूल परिमार्जन गर्दै प्रभावकारी कार्यान्वयन गर्नु आजको आवश्यकता हो । यसरी मात्रै पनि क्यान्सरजस्ता प्राणघातक रोग लाग्नबाट धेरैलाई बचाउन सकिन्छ । रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै उत्तम हुन्छ । तसर्थ क्यान्सरजस्तो घातक रोग लाग्नै नदिन सरकार र स्वयमं नागरिक सचेत हुन जरुरी छ ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update