Shittalpati
‘समुदायमा काँग्रेस’ अभियानको सार्थकता

देशमा ठूलो पार्टीको रुपमा रहेको नेपाली काँग्रेसले पछिल्लो समय राष्ट्रिय अभियानहरु सञ्चालन गर्दै आएको छ । उसले तल्लो तहदेखि नै पार्टी संगठनलाई बलियो बनाउनेदेखि जनतासँग नजिक हुने खालका अभियानहरुलाई प्राथमिता राख्दै आएको छ । आन्तरिक राष्ट्रिय अभियान चलाएको काँग्रेसले अहिले आफ्नो जनाधार नखस्कियोस् भन्ने उद्देश्य अनुरूप ‘समुदायमा काँग्रेस’ नयाँ अभियान प्रारम्भ गरेको छ । यो माघ १३ गतेदेखि सुरु भएको छ ।  खुला छलफल, समूहगत छलफल, निर्दिष्ट भेटघाट, सेवा प्रवाह अवलोकन वडा कार्यालय भ्रमण र संवाद गरी पाँच प्रकृतिका विषयलाई काँग्रेसले अहिलेको अभियानमा राखेको छ । अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय तहका नेताहरुलाई प्रतिनिधि बनाएर पठाइएको छ । तीनै तहका सरकारसँगका जनताका अपेक्षा, सुझाव, गुनासो सुन्ने÷बुझ्ने अभियानको उद्देश्य रहेको छ । 

जनताबाट प्राप्त सुझावलाई तत् तत् तहका सरकारमा पुर्‍याउने, सरकारमा रहेका ठाउँमा कार्यक्रममा समावेश गरी कार्यान्वयनमा अग्रसरता लिने, पार्टी प्रतिपक्षमा रहेका ठाउँमा पार्टीको तर्फबाट समाधानका लागि पहलकदमी लिने लगायतका कुराहरु अभियानमा रहेका छन् । काँग्रेसले भाषणलाई निरुत्साहित गर्दै जनताका कुराहरुलाई मात्र अभियानको प्राथामिकतामा राखेको छ । यो आफैमा सकरात्मक मान्नुपर्छ । राजनीतिक दलहरुप्रति जनताको वितृष्ण पैदा भइरहेका बेला काँग्रेसले जनतासँग प्रत्यक्ष जोड्ने गरी चालेको अभियानले राम्रो सन्देश प्रवाह गर्ने विश्वास गर्न सकिन्छ । केन्द्रबाट खटिएका प्रतिनिधिले स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण, समुदायस्तरमा भएका सकारात्मक प्रयास, उपलब्धि र अभ्यासको अवलोकन गर्ने छन् । पार्टीको अस्तित्व एवं हैसियत स्थापित हुने भनेकै जनधरातलबाट हो । निर्वाचनको मुखमा मात्र जनताको घरदैलोमा मन जितेर मत पाउने अवस्था अबका दिनमा नरहने भएकाले पनि तल्लो तहसम्म पार्टीलाई क्रियाशील बनाउन यस्ता अभियान महत्वपूर्ण हुने गर्दछन् । तसर्थ काँग्रसले अहिले जुन अभियान सञ्चालन गरेको छ सो अभियानबाट जनताका समस्य, गुनासा समाधान गर्न सक्नु र त्यसलाई निरन्तरता दिन सक्यो भने मात्र अभियानले सार्थकता प्राप्त गर्न सक्छ । अन्यथा अभियान जनता भुलाउन गरिएको नाटक मात्र हुनेछ ।  

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update