Shittalpati
गुल्मीमा पनि ‘समुदायमा काँग्रेस’ अभियानको सुरुवात, अभियान प्रभावकारी बनाउन जुट्यो काँग्रेस

गुल्मी (तम्घास), ‘गुल्मी काँग्रेसको अठोट, सवल वडा, सक्षम टोल’ भन्ने अभियानलाई निरन्तरता दिदै आएको गुल्मी काँग्रेसले देशव्यापी रुपमा सञ्चालनमा आएको ‘समुदायमा काँग्रेस’ अभियानलाई समेत  जिल्लाका सबै वडा, टोलमा पुर्‍याउने गरी अगाडि बढेको छ । केन्द्रले तीनै तहका सरकारसँगका जनताका अपेक्षा, सुझाव, गुनासो सुन्ने/बुझ्ने उद्देश्य अनुरूप सञ्चालन गरेको ‘समुदायमा काँग्रेस’ अभियानलाई गुल्मीमा पनि काँग्रेसले बुधबारदेखि सञ्चालनमा ल्याएको हो ।

अभियानको अनुगमन तथा निरीक्षणका लागि गुल्मी आएकी काँग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नेपाली काँग्रेसले इतिहासमै पहिलो पटक वडा समिति सम्मको पहुँचको पहिचान गर्ने कामको शुुरुवात गरेको बताईन् । उनले जनतासँग प्रत्यक्ष जोड्ने गरी सञ्चालन भएको अभियानमा काँग्रेस नयाँ जोस र जागरका साथ अगाडि बढेको धारणा व्यक्त गरिन । अभियानका केन्द्रीय प्रतिनिधी नेपाली काँग्रेस कपिलवस्तुका पुर्वसभापति राजेश आचार्यले अब काँग्रेस समुदायप्रति उत्तरदायी भएर अगाडि बढ्नुको विकल्प नभएकाले यस्तो अभियान सञ्चालन गरिएको बताए । काँग्रेस लुम्बिनी प्रदेशका उप–सभापति भुवनप्रसाद श्रेष्ठले नेपाली काँग्रेसलाई जनमुखी बनाउँन अभियान इतिहासमै सबै भन्दा महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालले आम जनताका आवाज सुन्न आयो काँग्रेस भन्ने खालको अनुभूति दिन अभियान ल्याइएको बताए । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सह–महामन्त्री तथा प्रदेश सांसद निमा गिरीले प्रदेश सरकारमा काँग्रेसले नेतृत्व गरेपनि  विकासका काममा कुनै सकारात्मक नदेखिएको बताईन् ।

नेपाली काँग्रेस गुल्मीका सभापति तथा रेसुगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले अभियानलाई शिरोधार्य गर्दै कार्यान्वयन गर्ने काममा गुल्मी काँग्रेस गम्भीर भएर लाग्ने बताए । अभियान शुुभारम्भ कार्यक्रममा उसभापति अनन्तराम पौडेलले  जिल्लाका सबै वडामा अभियान प्रभावकारी रुपमा अगाडि बढाइने प्रतिवद्धता व्यक्त गरे । जिल्ला सचिवहरु भगतसिह खड्का र जगदीश भट्टराईले अभियानको उद्देश्य र केन्द्रको परिपत्रका विषयमा जानकारी  गराउँदै अभियानलाई उत्साहका साथ अगाडि बढाइने बताए । 

प्राध्यापक, शिक्षक र दलित समुुदायमा पुुगेर अभियानको शुभारम्भ


काँग्रेसले जिल्लाका प्राध्यापक, शिक्षक र दलित समुदायमा पुगेर उनीहरुसँग राय ,सल्लाह लिदै अभियानको शुुभारम्भ गरेको  छ । रेसुंगा बहुमुखी क्याम्पसका प्राध्यापक, शिक्षक महासंघका पदाधिकारी र रेसुंगा नगरपालिका–७ को भूजेल खर्कका दलित समुदायहरुसँग भेटघाट र सुझाव संकलन गरी स्थलगत रुपमा समस्या र समाधानका उपायका विषयमा छलफल गरी अभियानको शुुभारम्भ गरिएको पार्टी सचिवालयले जनाएको छ । अभियानले गुल्मेली जनताका आवाज सुन्ने र समुदायबाट आएका सुझावहरु केन्द्रीय महासमितिको बैंठकमा पेश गर्ने उद्देश्य राखेको  छ ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update