Shittalpati
प्रचण्ड सरकारले एक दुई तिन भन्ने गरी कुनै राम्रो काम गर्न सकेन : डा.संग्रौला 

पाल्पा, नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डा.डिला संग्रौलाले वर्तमान प्रचण्ड सरकारले एक दुई तिन भन्ने गरी कुनै राम्रो काम गर्न नसकेको बताएकी छन् । नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डा.संग्रौलाले औलामा गर्न सकिने गरी जनहितका विषयमा प्रचण्ड सरकारले राम्रो काम गर्न नसकेको बताएकी हुन् । 

सरकारमा नेपाली काँग्रेसको सहभागिता भएपनि कार्यकारी प्रमुखमा माओवादी अध्यक्ष प्रचण्ड भएको सबै कुराको जिम्मेवारी प्रचण्डले लिनुपर्ने नेपाली काँग्रेस केन्द्रिय सदस्य डा.संग्रौलाले बताइन् । निर्वाचन अघि नै काँग्रेसको विचार भन्दा फरक पार्टीसंग सहकार्य गर्नु गलत अभ्यास भएको बताउँदै नेका महिला नेतृ डा.संग्रौलाले आगामी दिनमा नेपाली काँग्रेस एक्लै निर्वाचन लड्ने बताइन् । मिश्रित निर्वाचन प्रणालीको कारण नेपालमा कुनै पार्टीको पनि बहुमत नआउने अवस्थाको कारण संविधान परिवर्तन गरी एकल पार्टीको बहुमत आउने गरी समाधान निकाल्नु पर्ने डा.संग्रौलाको भनाइ छ । उनले समानुपातिक निर्वाचनको कारण महिला, जनजातीहरु अधिकार बञ्चित हुँदै गएको बताइन् । नेतृ डा.संग्रौलाले अहिले देशमा विभिन्न विषयमा राजनीतिक दलका नेता तथा आफन्तहरुले भ्रष्टाचार गरी काण्डै, काण्ड मच्चाएकोले सरकार भित्र वा बाहिर, पार्टीभित्र वा बाहिर जोसुकै भएपनि कानुनी दायरामा ल्याई कारवाही गर्न सरकारले बलियो आट देखाउनुपर्ने बताइन् । 

‘समुदायमा काँग्रेस’ अभियान कार्यक्रमको लागि पूर्वउपसभापति विमलेन्द्र निधी, डा.संग्रौला केन्द्रिय सुपरीवेक्षकको रुपमा, केन्द्रिय सदस्य अब्दुल रजाक केन्द्रिय प्रतिनिधीको रुपमा, लुम्बिनी प्रदेशकोतर्फ पार्टीका प्रदेश महामन्त्री विक्रम खनाल सुपरीवेक्षकको रुपमा पाल्पामा खटिएका छन् । नेपाली काँग्रेस पाल्पाले माघ १६ गते मंगलबारदेखि तानसेन नगरपालिका वडा ६ गन्धर्व टोलबाट ‘समुदायमा काँग्रेस’ अभियान शुरु गरेको छ । अभियानको पहिलो दिन काँग्रेसले गन्धर्व समुदाय, सामुदायिक प्रहरी, त्रिभुवन बहुमुखि क्याम्पसका विद्यार्थी र टुँडिखेलमा सञ्चालित राष्ट्रपति रनिङ्गशिल्ड प्रयोगितामा सहभागी खेलाडीहरुसँग छलफल गरेका थियो । १० दिनसम्म चल्ने समुदायमा काँग्रेस अभियान माघ २६ गते तानसेनमा समापन हुनेछ । कार्यक्रममा जिल्ला सभापती हिमालदत्त श्रेष्ठले १० वटा पालिकाको ८१ वटा वडाको टोलमा पार्टीभित्र र बाहिरका सबै पक्षसंग भेटघाट, अन्तक्र्रिया, राय सुझाव संकलन गरिने बताए । पार्टीको लागि आएका राय सुझाव आगामी फागुन ७ गतेदेखि हुने नीति महाधिवेशनमा प्रस्तुत गरिने जिल्ला सभापती श्रेष्ठले बताए । प्रेस युनियन पाल्पाका अध्यक्ष मन गहिरेको अध्यक्षतामा, उपाध्यक्ष रामचन्द्र रायमाझीको स्वागत र सहसचिव बविता विष्टको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update